विराटनगर– आकर्षक तलबको प्रलोभनमा माल्टा र अल्बानिया पठाइदिने भनेर रकम ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका–८ बस्ने लमजुङ बेशीशहर–७ का २३ वर्षीय सरोज थापा र काठमाडौं बुढानिलकण्ठ–१२ बस्ने ४६ वर्षीया कल्पना रावत भएको प्रहरीले जनाएको छ ।
पक्राउ मध्ये सरोजले माल्टा पठाइदिन्छु भन्दै १ पीडितबाट ३ लाख ६४ हजार रूपैयाँ र कल्पनाले अल्बानिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख ८२ हजार रूपैयाँ लिइ सम्पर्कबिहीन भएको उजुरीको आधारमा प्रहरीले कारवाही अगाडि बढाएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सरोजलाई काठमाडौं महानगरपालिका–२६ बाट सोमबार र कल्पनालाई ललितपुर महानगरपालिका–१५ बाट आइतबार पक्राउ गरेको हो ।
यस अघि आइतबार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले ललितपुर–२९ बस्ने सुर्खेत सिम्ता गाउँपालिका–४ का ३७ वर्षीय ईन्द्र बहादुर केसी र काठमाडौं–१६ ढुङ्गेधारा बस्ने बारा करैयामाई–१ का ४६ वर्षीय बिशुनदयाल चौधरीलाई पक्राउ गरेको थियो । ईन्द्र बहादुरले ग्रिस पठाइदिन्छु भन्दै ३ पीडितहरूबाट २४ लाख रूपैयाँ र बिशुनदयालले स्विडेन पठाइदिन्छु भन्दै १ पीडितबाट ४ लाख ४० हजार रूपैयाँ लिए पछि फरार भएको पीडितहरूको उजुरीको आधारमा प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरू सबैलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौँ पठाइएको छ ।