विराटनगर– लियो अफ विराटनगर सेन्टरल मेघाले अन्तर कलेज हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ । हिसान मोरङको सहकार्यमा आयोजना गर्न लागेको प्रतियोगितामा १० वटा विद्यालय र कलेजको सहभागिता रहने आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जनाएको छ ।
पत्रकार सम्मेलनमा टर्फी अनावरण गर्दै चिठ्ठा तानेर टाइसिट तायर गरेको छ । जसअनुसार समूह ‘ए’ को ए१ मा शिक्षादिप कलेज, ए२ मा महेन्द्र मेमोरियल स्कूल दुहबी, ए३ मा बिकेबिएम स्कूल, ए४ मा अर्निको स्कूल, ए५ मा सत्यनारायण माध्यमिक विद्यालय, ए६ मा अर्किड कलेज टिम ए परेको छ । समूह ‘बी’ को बी१ मा पोखरिया माध्यमिक विद्यालय, बी२ मा ग्रिनल्याण्ड कलेज, बी३ मेरिल्याण्ड कलेज, बी४ मा दिल्ली पब्लिक स्कूल, बी५ मा अर्किड स्कूल टिम ए र बी६ मा कान्तिपुर कलेज परेको हो ।
दुई समूहका बीच हुने हाजिरी जवाफ प्रतियोगिताका बिजेता चार समूहबीच अन्तिम प्रतियोगिता आउँदो शुक्रबार हुने सेन्टरल मेघाका अध्यक्ष आर्यन बास्कोटाले बताएका छन् । प्रतियोगिताका विजेताले १६ हजार १ नगद, टर्फी, पदक, प्रमाण पत्र र गिफ्टह्याम्पर, उपविजेताले ११ हजार १ सय नगद, टर्फी, पदक, प्रमाण पत्र र गिफ्टह्याम्पर, तेस्रो हुनेले ५ हजार १ सय नगद, टर्फी, पदक, प्रमाण पत्र र गिफ्टह्याम्परका साथै सबै सहभागीलाई प्रमाण पत्र प्रदान गरिने उनले बताए ।
सेन्टर मेघाका पूर्वअध्यक्ष मनोज तिवारीले बौद्धिक प्रतिस्पद्र्धामार्फत विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रष्फुटन गराउन, विविधज्ञान क्षेत्रहरुमा आधारित प्रश्नोत्तर गर्न, विद्यार्थीहरु बीचको समन्वय र सहकार्यताको प्रबर्द्धनका लागि यो प्रतियोगिता गराउन लागेको बताए ।
लायन्स क्लव अफ विराटनगर सेन्ट्रलका अध्यक्ष तथा पर्यटन व्यवसायी फडिन्द्र अधिकारीले विद्यालयस्तरमा मात्रै भइरहेको हाजिरी जवाफ प्रतियोगतालाई कक्षा ११ र १२ का विद्यार्थीमा पुर्याएर मानसिक क्षमता अभिवृद्धि गर्ने लियोको लक्ष्य प्रशंसनीय रहेको बताए ।