हिजोका तारा आज धमिलिएका छन्
सपनाहरूको बगैँचामा अब खरानी उड्छ
कहिले नरोकिने आँसु झार्छिन् आमा
बुबाको काँधमा भार बनेर उठ्छ पीडाको पहाड
समुन्द्र किनारमा बालुवाका
महल बनाउने साना हातहरू
अब धुलोले पोतिएका छन्
हिजो हाँसिरहेका ती अनुहारहरू
आज विस्फोटका आवाजसँगै
तितरबितर भएका छन्
नानीको हात समातेर भाग्छिन् आमा
तर मृत्युले छायाँझैँ पछ्याइरहन्छ
रंगीन शहरहरू खरानीमा परिणत छन्
जहाँ कहिल्यै नओइलाउने सम्झनाहरू थिए
युद्धका भाषणहरू ठूला छन्
तर तिनले भोक मेटाउन जान्दैनन्
गोलाबारुदले सीमा कोरिरहँदा
संसारको नक्सामा मानवता हराइरहेछ
के अब शान्तिको सुगन्ध फर्कने छैन ?
के फेरि ती बालबालिकाले मुस्कान पाउने छैनन् ?
के आमा अब आफ्ना छोराछोरीहरूलाई
निडर भएर अँगालो मार्न सक्ने छैनन् ?
यो पृथ्वी किन यति क्रुर बन्यो ?
किन मानिसहरूले प्रेम बिर्से ?
रगतले पोतिएको आकाशमुनि
केही उज्यालो सपना अझै बाँकी छ ?
शायद,
कुनै दिन युद्धका आगो निभ्नेछन्
मानवता फेरि फुल्नेछ
अनि झ्याँगिनेछ
त्यो दिन सबैभन्दा सुन्दर हुनेछ
जब पृथ्वीको एउटा पनि बच्चा
डरले होइन सपनाले निदाउनेछ !