विराटनगर– महाशिवरात्रि महोत्सवमा बागमती नदीमा पानीको बहाव बढाउन मेलम्चीको पानी ल्याइएको छ ।
मेलम्ची खानेपानी विकास समितिको अनुसार बागमतीमा मेलम्चीको पानी प्रतिसेकेण्ड करिब १ हजार लिटर बगाइएको हो । अन्य दिन पनि छ सय लिटर प्रतिसेकेण्ड खोलामा पानी बगाउने गरेको समितिले जनाएको छ । समितिका अनुसार आयोजनाको क्षमता १७ करोड लिटर भनिए पनि अहिले २३ करोड लिटर खानेपानी प्रतिदिन ल्याइँदैछ ।
बिहीबार बिहान ८ बजेसम्म शिवरात्रिका लागि पानी बगाइने छ । गत वर्षको शिवरात्रिमा एकीकृत वाग्मती सभ्यता विकास समितिअन्तर्गत वाग्मती सुधार आयोजनाले धाप ड्यामको पानी बागमतीमा नदीमा बगाएको थियो । ड्याममा वर्षाको बेलाको पानी जम्मा गर्ने र हिउँदकमा वाग्मती नदीमा छाड्ने लक्ष्यका साथ आयोजना निर्माण गरिएको थियो । वर्षात्को समयमा यहाँ जम्मा गरिएको पानी हिउँदमा प्रतिसेकेण्ड चार सय प्रतिलिटरका दरले बागमतीमा छोड्ने आयोजनाको लक्ष्य छ ।