पर्सा – सशस्त्र प्रहरीले वीरगन्ज भन्सार क्षेत्रबाट १० लाख रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । स्रोत नखुलेको ठूलो रकमसहित वीरगन्ज महानगरपालिका–१७, अलौंका २९ वर्षीय प्रदीपकुमार साहलाई नियन्त्रणमा लिइएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण, पर्साका नायब उपरीक्षक (डीएसपी) लोकेन्द्र सुब्बाका अनुसार वीरगन्ज–१६ स्थित भन्सार कार्यालयअगाडि बीआर २२ बिजी १४०८ नम्बरको भारतीय मोटरसाइकल रोकेर चेकजाँच गर्दा साहको साथबाट १० लाख ५ हजार रुपैयाँ बरामद भएको हो । सशस्त्र प्रहरीको टोलीले रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको अवस्थामा साहलाई रोकेर सोधपुछ गर्दा उनले उक्त रकमको आधिकारिक स्रोत खुलाउन नसकेको डीएसपी सुब्बाले जानकारी दिए ।
पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको र रकम अवैध हो वा कानुनी रूपमा भित्र्याइएको हो भन्ने विषयमा भन्सार तथा अन्य सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। नेपाल–भारत सीमा क्षेत्रबाट हुने अवैध वित्तीय कारोबार रोक्न सशस्त्र प्रहरीले कडाइ गरिरहेको छ । सीमा क्षेत्रमा हुण्डी, सुन तस्करी तथा अन्य अवैध कारोबार नियन्त्रण गर्न सुरक्षा निकायले विशेष निगरानी बढाएको छ ।