विराटनगर– झापाको हल्दीबारी गाउँपालिका–४ मा जंगली हात्तीको आक्रमणबाट एक जना वृद्धको बिहीबार मृत्यु भएको छ । स्थानीय ७६ वर्षीय भीमप्रसाद भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी झापाले जनाएको छ ।
चौकी बिराम सामुदायिक वनमा घाँस काट्न गएका बेला भट्टराईमाथि जंगली हात्तीले आक्रमण गरेको र घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घरबाट ४ किलोमिटर टाढा सामुदायिक वनमा बिहान १० बजे घाँस काट्न गएका वृद्धको शव साँझ ५ बजेतिर स्थानीयले फेला पारेको झापा प्रहरीले जनाएको छ । उनको शव भद्रपुर प्रादेशिक अस्पतालमा पोष्टमार्डम गरेर परिवारजनलाई जिम्मा लगाइने प्रहरीको भनाइ छ ।