टीकापुर, कैलाली — मानव बेचबिखन मुद्दामा थुनामा रहेकी एक महिला जिल्ला सरकारी वकिलको कार्यालय, धनगढीबाट हतकडीसहित फरार भएकी छन्।
इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार टीकापुर नगरपालिका–१ स्थित शिविर क्षेत्रबाट वैशाख ४ गते पक्राउ परेकी मीना शाही दमाई आइतबार दिउँसो साढे ३ बजे जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतबाट म्याद थपका लागि सरकारी वकिल कार्यालय लगिएका बेला फरार भएकी हुन्।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी नवीनराज बुढाथोकीले शाही दमाई हिरासतमा राखिएको र म्याद थपका लागि धनगढी लगिएको बेला सरकारी वकिल कार्यालय परिसरबाटै हतकडीसहित भागेको जानकारी दिए। उनका अनुसार फरार थुनुवाको खोजी कार्य तीव्र पारिएको छ।
शाही दमाईविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गत मुद्दा दायर गरिएको थियो। मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐनअनुसार दोषी ठहरिएमा १० वर्षदेखि २० वर्षसम्म कैद सजाय र जरिवाना हुन सक्छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।