विराटनगर- नेपाली कांग्रेसका नेता डा. शेखर काेइरालाले खेलकुद जस्तै राजनीति पनि अनुशासित हुनुपर्ने बताएका छन् ।

विराटनगरस्थित सहिद रंगशालामा साेमबार विराट गाेल्डकपकाे उद्घाटनपछि काेइरालाले राजनीतिलाई अनुशासित बनाउनु अपरिहार्य रहेकाे बताएका हुन् । ´यसअघि विराट गाेल्डकपमा भारत लगायतका खेलाडी टिमहरू आएर फुटवल खेल्दा हामी पनि खेलप्रति उत्साहित हुने गरेका थियाैं,` उनले भने, ´तर अहिले सरकारले पनि खेलकुद क्षेत्रमा लगानी नगर्ने, आयाेजकहरू पनि लगानी गर्न नचाहने अवस्थामा खेलक्षेत्रमा उत्साह घटेकाे छ ।`

त्यसैले संघीय, प्रदेश र स्थानीय सरकारका साथै आयाेजकहरूलाई पनि खेलकुद क्षेत्रमा लगानी गरेर उत्साह बढाउनु अपरिहार्य रहेकाे काेइरालाले बताएका हुन् ।

कार्यक्रममा विराटनगर महानगर प्रमुख नागेश काेइरालाले विराट गाेल्डकप विराटनगरकाे प्रतिष्ठा भएकाेले व्यवस्थित बनाउँदै लग्ने बताएका छन् ।

काेशी प्रदेश खेलकुद वििकस बाेर्डकी उपाध्यक्ष विन्द्या कार्कीले विराट गाेल्डकप र सहिद रंगशाला व्यवस्थित बनाउन बजेटकाे व्यवस्था गर्ने प्रतिबद्धता जनाइन् ।

विराट गाेल्डकपका मुख्य प्रायाेजक रमपम च्याउच्याउका निर्देशक महेश जाजुले बाँस फल्ड लाइट बाँधेर सुरू भएकाे रात्रिकालिन विराट गनेल्डकप प्रदेश सरकारकाे सहयाेगमा व्यवस्थित फल्ड लाइटमा हुनु गाेल्डकप आयाेजक समितिका संयाेजक नवीन रिजालकाे ठूलाे उपलब्धी भएकाे बताए ।

उद्घाटन सत्रमा गाेल्डकप आयाेजक समिति संयाेजक रिजालले स्वागत गर्दै गाेल्डकपकाे बारेमा जानकारी गराएका थिए ।

उद्घाटन खेल रिजालको मोरङ एफसी र भारतीय टिम साउथर्न समिति फुटवल क्लव कलकताबीच सुरू हुन गइरहेकाे छ । गाेल्डकपमा १० वटा टिमकाे सहभागिता रहेकाे छ ।

उद्घाटन सत्रमा गायिका शान्ति रानीलगायतका कलाकारहरूले प्रस्तुति दिइरहेका छन् ।