विराटनगर —ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा प्रस्तावित केबलकार निर्माणलाई सर्वोच्च अदालतले रोक नगरेपछि निर्माणको बाटो खुलेको छ। यसअघि जारी ‘यथास्थितिमा राख्नू’ भन्ने अल्पकालीन आदेशलाई सर्वोच्चले बुधबार निरन्तरता नदिएपछि निर्माण अघि बढ्ने भएको हो।

न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले चैत १३ को अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएको वरिष्ठ अधिवक्ता सतिषकृष्ण खरेलले जानकारी दिए।

‘यथास्थितिमा राख्नु भन्ने आदेश अब कायम नरहने भएपछि केबलकार निर्माणको बाटो खुलेको हो,’ निर्माण पक्षका तर्फबाट बहस गरेका अधिवक्ता खरेलले भने।

रिटमा मुक्कुमलुङको धार्मिक र सांस्कृतिक महत्वको विषय उठाइएको थियो
पाथीभरा देवी दर्शन केबलकार प्रालि विरुद्ध यामबहादुर लिम्बूलगायतले दायर गरेको रिटमा मुक्कुमलुङ क्षेत्रलाई लिम्बू समुदायको आस्था, पहिचान र सांस्कृतिक सम्पदा भएको दाबी गर्दै केबलकार निर्माण रोक्न माग गरिएको थियो।

चैत १३ मा न्यायाधीश शारदा सुवेदीको एकल इजलासले पक्ष–विपक्षलाई छलफलका लागि बोलाउँदै त्यो समयसम्म निर्माण कार्य यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको थियो।

समुदायको आक्रोश कायमै, आन्दोलन जारी
सर्वोच्चको आदेशपछि कानुनी रुपमा निर्माण मार्ग खुले पनि स्थानीय विरोध र आन्दोलन भने कायमै छ। मुक्कुमलुङ क्षेत्रलाई लिम्बू समुदायले आस्थाको केन्द्र र पवित्र धार्मिक स्थल मानेका कारण केबलकार निर्माणले सांस्कृतिक अतिक्रमण गर्ने दाबी गर्दै उनीहरूले निरन्तर प्रदर्शन गर्दै आएका छन्।यस आन्दोलनमा कोशी नाम खारेजीको मागसहित सक्रिय समूहहरूको पनि समर्थन रहेको छ।
 

#केबलकार