विराटनगर– सात सय ७० ग्राम तौलको सालकको खपटा जस्तो देखिने बस्तु सहित दुई जनालाई काठमाडौँ–१६ माछापोखरीबाट  आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु काठमाडौँ–६ जोरपाटी बस्ने खोटाङ दिप्रुङ चुइचुम्पा–२ का २९ वर्षीय उमेश तामाङ र काठमाडौं तारकेश्वर नगरपालिका–७ संगम फाँट बस्ने सिन्धुली तीनपाटन–६ का ३० वर्षीय मोहन पुलामी मगर रहेको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त खपटा सहित पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार उनीहरूबाट दुई मोबाइल समेत बरामद गरिएको छ । बरामद सालकको खपटा सहित पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय पठाइएको प्रहरीले जनाएको छ । आईयूसीएनले सालकलाई निकट भविष्यमै लोप हुनसक्ने ‘क्रिटिकल्ली इन्डेन्जर्ड’ समूहमा राखेको छ । सालक नेपालको संरक्षित वन्यजन्तु हो ।