विराटनगर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगरस्थित कोशी अस्पतालमा रेडियोग्राफर पदमा कार्यरत जितेन चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आरोपमा मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।
उक्त अस्पतालको सीटी स्क्यान डिपार्टमेन्टमा कार्यरत चौधरीको बीएससी तहको शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते रहेको उजुरी परेको आयोगका प्रवक्ता नरहरि घिमिरेले विज्ञप्ति मार्फत जनाएका छन् । उनी २०७२ को १ माघदेखि उक्त अस्पतालमा कार्यरत छन् ।
अख्तियारको आरोपपत्रमा के छ ?
कोशी अस्पताल, विराटनगरमा रेडियोग्राफर पदमा कार्यरत जितेन चौधरी उपर शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०८१।११।२० गते।
——————————————
कोशी अस्पताल, विराटनगरमा CT Scan Department मा कार्यरत जितेन्द्र भनिने जितेन चौधरीको B.Sc. तहको शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कोशी अस्पताल, विराटनगरमा कार्यरत जितेन चौधरीले नेपाल स्वास्थ्य व्यवसायी परिषद्को सदस्य हुन राजिभ गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स, कर्नाटकबाट जारी भएको BSc. MIT Reg No 09E1958, PDC/Degree Certificate No o147294, को झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी कोशी अस्पताल, विराटनगरमा रेडियोग्राफर पदमा मिति २०७२/१०/०१ गते नियुक्ति लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरेकोले निज जितेन चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।
प्रवक्ता
नरहरि घिमिरे