विराटनगर– कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले  विद्यालय तहदेखि नैतिक शिक्षा दिनुपर्ने बताएका छन् । विराटनगरस्थित स्टार बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सवको शनिबार उद्घाटनपछि उनले विद्यालय तहदेखि नै नैतिक शिक्षासँगै व्यवसायिक ज्ञान दिएर विद्यार्थीहरुलाई रोजगारी र उत्पादन गर्ने योग्य बनाउनु पर्नेमा जोड दिएका हुन् । 

‘विद्यालय र विश्वविद्यालयहरूबाट उत्पादन भएका हाम्रा विद्यार्थीहरु बेरोजगार मात्र नभएर कक्षा १२ पछि देशमा रहन सक्ने स्थिति छैन भन्ने अभिभावकलाई पनि विद्यार्थीहरुलाई पनि परेको छ,’ उनले भने, ‘यसले गर्दा योग्य क्षमतावान युवा पुस्ता बाहिरिँदै छन् जुन मुलुकको निम्ति ठूलो चुनौतीको विषय हो ।’ 

प्रदेश प्रमुख खापुङले युवा शक्तिको पलायन रोक्नका लागि विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक र सरकार सबै मिलेर गुणस्तरीय व्यवसायिक तथा प्राविधिक शिक्षा दिँदै रोजगारी सृजना गर्नुपर्ने बताएका हुन् । अहिलेको अवस्थामा सामुदायिक विद्यालयले मात्रै धान्न नसक्ने भएकोले निजी विद्यालयको समेत सहभागितामा मुलुकको शैक्षिक स्तरलाई उकास्नु पर्ने उनको भनाइ थियो । 

विद्यालयले वर्षकोत्सवको अवसरमा पत्रकार नविन कर्णसहित ६ जनालाई सम्मान गरेको छ ।सम्मानित हुनेमा विराटनगर १३ का वडा अध्यक्ष सूर्य लाल यादव, विराटनगर १४ का वडा अध्यक्ष सूर्यनारायण महतो, गायक तथा संगीतकार रामा मण्डल, किशोर शाही र जिल्ला शिक्षा समन्वय इकाइ मोरङका प्रमुख जीवन गड्तौला रहेका छन् । उनीहरुलाई प्रदेश प्रमुख खापुङले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।