सिरहा– सिरहाको गोलबजार नगरपालिका–३, गोलामुक्सारका स्थानीयवासीलाई धमिनी खोलामा कजबे पुल निर्माण भएपछि स्थानीयवासिन्दा खुसि भएका छन ।

गोलबजारको एलआईपीडब्ल्यू कार्यक्रम अन्तर्गत १५ लाख रुपैयाँको लागतमा पुल निर्माण भएसँगै अब स्थानीयहरूले सुरक्षित रूपमा यात्रा गर्न पाउने भएका छन् । पुल बन्दा करिव एकसय पचास घर परिवार लभाम्बित भएको नगर प्रमुख श्याम कुमार श्रेष्ठले बताएका छन ।

गोलामुक्सार बस्ती गोलबजार नगरपालिकाको उत्तरपूर्वी क्षेत्रमा पर्छ। यहाँका नागरिकहरू लामो समयदेखि धमिनी खोलामा पुल नहुँदा विभिन्न समस्याहरू भोग्दै आएका थिए। बर्खायाममा खोला बढ्दा यात्रा गर्न कठिन हुनुका साथै कतिपय अवस्थामा बाढिले मानिसहरू समेत बगाउने जस्त्ता समस्या भएपछि नगरपालिकाले उपभोक्ता मार्फद कज्बे पुल निर्माण गरिएको निर्माण समितिका अध्यक्ष नरबहादुर आलेले जनाएका छन । बाढीका कारण आवतजावत नै बन्द हुने भएकाले स्थानीयहरूको दैनिक जीवन कष्टकर बन्ने गरेको थियो ।

पुलको अभावले आकस्मिक स्वास्थ्य सेवामा समेत समस्या परिरहेको थियो। विशेष गरी गर्भवती महिला, बिरामी तथा वृद्धवृद्धाहरूलाई खोलो तर्नु जोखिमपूर्ण हुने गरेको थियो। विद्यालय जाने विद्यार्थीहरूलाई पनि पुल अभावले कठिनाइ झेल्नुपरेको थियो। बाढीका समयमा विद्यार्थीहरू विद्यालय छुटाउने, ढिलो पुग्ने वा जोखिम मोलेर खोलाबाट तर्ने बाध्यतामा थिए।

व्यापार व्यवसायका लागि पनि पुल जीवनरेखा बन्ने विश्वास गरिएको छ। यसअघि स्थानीयहरूलाई किनमेल तथा व्यापारका लागि लामो बाटो हिँड्नुपर्ने बाध्यता थियो। पुल बनेपछि अब बजारसम्म सहज रूपमा आवतजावत गर्न सकिने स्थानीय कमल आलेले जनाएकि छिन ।

स्थानिय:,उमेश थापा मगरले भने,पुल निर्माणपछि स्थानीय बासिन्दाहरू अत्यन्त खुशी भएका छन्। "वर्षौंदेखिको समस्या समाधान भएको छ। अब सुरक्षित र सहज यात्रा गर्न सक्ने भयौं।" अर्का व्यापारी नर बहादुर आलेका अनुसार, "पहिले सामान ढुवानी गर्न धेरै समस्या थियो। अब पुल बनेपछि बजारसम्म सजिलै पुग्न सकिनेछ।"

स्थानीयवासीहरूले नगरपालिका र सम्बद्ध निकायलाई धन्यवाद दिँदै भविष्यमा यस्ता पूर्वाधार निर्माणलाई अझ प्राथमिकता दिनुपर्ने माग गरेका छन्। उनीहरूले सडक विस्तार, बिजुली, खानेपानी तथा अन्य पूर्वाधार निर्माणमा सरकारको ध्यानाकर्षण गराएका छन्।

कजबे पुल निर्माणले स्थानीयहरूको दैनिक जीवन मात्र नभई आर्थिक, सामाजिक, स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा समेत सुधार ल्याउने विश्वास गरिएको नगर प्रमुख श्याम कुमार श्रेष्ठको भनाइ छ ।