काठमाडौँ– एक महिनादेखि आन्दोलनरत आवासीय चिकित्सकहरूले सरकारसँग चिकित्सक संघको सहमति भए पनि आफूहरूको आन्दोलन जारी रहेको बताएका छन्।

वैशाख ११ देखि आन्दोलनमा उत्रिएको चिकित्सक संघ शनिबार सरकारसँग लिखित सहमतिपछि नियमित काममा फर्किएको छ। तर उक्त आन्दोलनमा ऐक्यबद्धता जनाएका आवासीय चिकित्सकहरूले उक्त सहमतिप्रति असन्तुष्टि जनाउँदै आन्दोलन नरोकेको बताएका हुन्।

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले आफूहरूसँग कुनै सहमति नभएको स्पष्ट पार्दै आन्दोलन यथावत रहेको जनाएको छ। शनिबार राति जारी गरिएको विज्ञप्तिमा समितिले भनेको छ, ‘चिकित्सा शिक्षा आयोगको २०८१ को माघ २५ मा बसेको सोह्रौँ पूर्ण बैठकको निर्णयअनुसारको पारिश्रमिक करिब तीन महिनादेखि पाएका छैनौँँ। पटक–पटक निर्देशनमात्र दिइएको छ तर कार्यान्वयनमा कुनै ठोस पहल भएको छैन। यस अवस्थामा हामी हाम्रो आन्दोलनका कार्यक्रमहरू सुचारु राख्न बाध्य छौं।’

तीन महिनादेखि पारिश्रमिक नपाएका चिकित्सकलाई तलब दिनुको सट्टा ’निर्देशन दिने’ र ’सहमति गर्ने’ जस्ता ’निर्लज्ज गतिविधि’प्रति समितिले गम्भीर आपत्ति जनाएको छ।

समितिको आह्वानमा नेपालभरका मेडिकल कलेजहरूमा अध्ययनरत आवासीय तथा अन्य चिकित्सकहरूले आठौँ तह बराबर (४८ हजार रुपैयाँ) मासिक निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने, ड्युटीको समय तोकिनुपर्ने लगायतका माग राख्दै आन्दोलन गरिरहेको प्रवक्ता डा. संजय बरालले जानकारी दिए। समितिका अनुसार उनीहरू ३२ दिनदेखि निरन्तर आन्दोलनरत छन्।