विराटनगर– सिराहाको नवराजपुर गाउँपालिका–१ की १७ वर्षीया रिंकुकुमारी सदायको सामूहिक बलात्कार पछि झुन्डिएको अवस्थामा शंकास्पद मृत्युसम्बन्धी घटनाका मुख्य आरोपी १८ वर्षीय रुपेश मण्डललाई प्रहरीले पक्राउ गरेर अदालतमा उपस्थित गराएको छ । सिरहा जिल्ला अदालतबाट दुई दिनको अनुसन्धान म्याद थप गरेर विस्तृत अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका एसएसपी शान्तिराज कोइरालाले उनलाई सिरहा नगरपालिका–१७ दशगजा क्षेत्रबाट पक्राउ गरेको बताए । कोइरालाकै नेतृत्वमा पाँच सदस्यीय छानबिन समितिका गठन भएको हो । बलात्कार पछि पीडकले नै झुण्डियाएर मारेको स्थानीयबासीको भनाइ छ ।
गत माघ २७ को राति घरबाट शौचका लागि निस्केको बेला तीनजना युवकले अपहरण गरी सामूहिक बलात्कार गरेको घटनालाई आर्थिक लेनदेनमा गाउँमै दबाउन २९ र ३० माघमा दुईपटक जनप्रतिनिधिकै रोहवरमा पञ्चायती गरी पीडित परिवारलाई प्रहरीमा जानबाट रोकेको सार्वजनिक भएको थियो । पहिलो दिनको पञ्चायतीले रुपेशलाई एक लाख ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय सुनाएको भोलिपल्ट रकम घटनामा संलग्न तीनजनाले नै तिर्नुपर्ने भन्दै उनका बाबुले दोस्रो दिन फेरि पञ्चायती राखेपछि पञ्चहरूबीच हात हालाहाल भएको थियो । पञ्चायतीले बलात्कारका पीडकबाट १ लाख ४० हजार जरिवाना भराउने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो । त्यही साँझ रिंकु घरको कोठामा शंकास्पद अवस्थामा झुन्डिएर मृत भेटिएकी थिइन् ।
रुपेशविरुद्ध १ फागुनमा प्रहरीले आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दर्ता गरेको थियो । त्यसको एक सातापछि ८ फागुनमा इलाका प्रहरी कार्यालय लहानमा मृतककी आमा सीतादेवी सदायले सामूहिक बलात्कारमा रुपेशसहित तीनजना र पञ्चायत बसेका पाँचजना पञ्च गरी आठ जना विरुद्ध कर्तव्य ज्यान, बलात्कार र अपहरण तथा शरीर बन्धक, पञ्चायतीद्वारा लेनदेन गरी मिलापत्र गर्न खोजेको कसुरमा पूरक जाहेरी दिएकी थिइन् । पूरक जाहेरीको आधारमा प्रहरीले ११ फागुनमा सोधपुछ तथा अनुसन्धानका लागि नियन्त्रणमा लिइएकामध्ये नवराजपुर–१ भगवतीपुर गाउँका करिब ८४ वर्षीय चन्देश्वर मण्डल, ४५ वर्षीय रामविनोद मण्डल र कमलेशकुमार दासलाई पञ्चायतीद्वारा लेनदेन गरी मिलापत्र गराउन संलग्न रहेको कसुरमा मुद्दा चलाएको थियो ।