रौतहट-  माध्यमिक शिक्षा परीक्षा (एसईई) को दोस्रो दिन रौतहट जिल्लाका विभिन्न परीक्षा केन्द्रहरूमा परीक्षामा अनियमितता गर्ने उद्देश्यले प्रयोग गरिएका ३ सय  ४० मोबाइल फोन र दुई  स्मार्टवाच बरामद गरिएको छ। परीक्षाको सुव्यवस्था  कायम राख्नका लागि सुरक्षाकर्मीहरूले ती उपकरण नियन्त्रणमा लिएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार नियमित चेकजाँचका क्रममा परीक्षार्थीहरू मोबाइल फोन तथा अन्य इलेक्ट्रोनिक उपकरणको प्रयोग गरेर चिट चोर्न खोजेको भेटिएको थियो। त्यसक्रममा परीक्षामा अनियमितता हुन नदिन सुरक्षाकर्मीहरूले सतर्कता अपनाउँदै ती उपकरण जफत गरेका हुन्। 

यसै क्रममा परीक्षार्थीलाई चोरी गर्न सघाएको अभियोगमा दुई जना परीक्षा केन्द्रका गार्डलाई निलम्बन गरिएको छ। उनीहरूलाई परीक्षा अवधिभरका लागि निलम्बित गरिएको प्रशासनले जनाएको छ। परीक्षा नियम उल्लङ्घन गर्ने जो कोहीलाई कानुनी कारबाही गरिने चेतावनीसमेत प्रहरीले दिएको छ।

परीक्षामा निष्पक्षता कायम राख्न शिक्षा कार्यालय र सुरक्षाकर्मीहरूले संयुक्त रूपमा थप कडाइ अपनाउने तयारी गरेका छन्। एसईई परीक्षामा हुने अनियमितता रोक्नका लागि सशक्त अनुगमन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।