विराटनगर– सानदार तलब पाउने गरी अजरबैजान र सर्बिया पठाइदिने विश्वास दिलाएर ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौँ तारकेश्वर–९ बस्ने स्याङ्जा बिरूवा गाउँपालिका–६ का २६ वर्षीय सुन्दर केसी र काठमाडौँ टोखा नगरपालिका–८ बस्न बाग्लुङ निसीखोला गाउँपालिका–६ का ५१ वर्षीय किरण घर्ती छन् ।
पक्राउ मध्ये सुन्दरले अजरबैजान पठाउने नाममा २ जना पीडितहरूबाट १२ लाख ७० हजार रूपैयाँ र किरणले सर्बिया पठाउने भनेर थप २ पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ लिएर सम्पर्कविहीन भएका थिए । पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सुन्दरलाई काठमाडौँ–२२ बाट मंगलबार तथा किरणलाई काठमाडौँ–३ बाट बुधबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।