विराटनगर– जनकपुरबाट बिहीबार काठमाडौं आएको बुद्ध एयरको नाइनएनएएच विमानले अगाडिको एउटा पांग्रा (नोज ह्वील) बिना अवतरण गरेको छ । विमानमा ६२ जना यात्रु थिए ।
काठमाडौंका लागि पौने पाँच बजे उडेको उक्त विमानको एउटा नोज ह्वील जनकपुरमै छुटेको हो । काठमाडौंमा अवतरण गरिसकेपछि पोष्टफ्लाइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गेयरको एउटा टायर नदेखिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
’लगत्तै जनकपुरमा चेक गर्न लगाउँदा विमानस्थलको रनवेको टर्निंगमै ल्यान्डिङ गेयर भेटिएको छ,’ प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, जहाज सुरक्षित अवतरण गरिसकेको छ ।’ उनले प्राधिकरणले विमान ग्राउन्डेड गरेर छानबिन सुरू गरिसकेको बताए ।