काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल ल्याइएको ठूलो परिमाणको गाँजासहित तीन जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले चैत २६ मा थाई एयरलाइन्समार्फत काठमाडौँ आइपुगेकी थाई नागरिक २७ वर्षीया कनोक्वान पोङ्गसुवानलाई विमानस्थलको एक्स–रे क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
ब्यूरोका प्रवक्ता एसपी नारायण अधिकारीका अनुसार पोङ्गसुवानको साथबाट ५ किलो २ सय ग्राम गाँजा बरामद गरिएको छ । अनुसन्धानको क्रममा उक्त लागुऔषध नेपालमै रिसिभ गरी भारततर्फ पठाउने तयारीमा रहेको खुलेको छ ।
गाँजा रिसिभ गर्न आएका थाई नागरिक २४ वर्षीया चोनलादा निनचा तुरत र भारतीय नागरिक ३१ वर्षीय जम्साद मालिक कुप्पाटिललाई पनि प्रहरीले पक्राउ गरेको छ । ती दुई जना काठमाडौँ बस्दै आएका थिए ।
प्रहरीका अनुसार उक्त सञ्जालले नेपाललाई ट्रान्जिटको रूपमा प्रयोग गरेर भारत हुँदै खाडी मुलुकतर्फ पनि लागुऔषध तस्करी गर्दै आएको पाइएको छ । अन्तर्राष्ट्रिय लागुऔषध कारोबारमा संलग्न यो सञ्जालबारे थप अनुसन्धान जारी रहेको ब्यूरोले जनाएको छ ।