विराटनगर– नेपाली १० लाख रुपैयाँ र भारु ५० हजार भन्दा बढी साथमा बोक्नु गैरकानुनी मानिन्छ । कपिलवस्तुस्थित इलाका प्रहरी कार्यालय पिपराको टोलीले स्रोत नखुलेको नेपाली र भारु गरी २८ लाख ९० हजार रुपैयाँ सहित ४ जनालाई पक्राउ गरेको छ । 

उनीहरूलाई गैरकानुनी रकम बोकेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सन्धिखर्क–५ का ३० वर्षीय गोविन्द विक र उनका साथी बुटवल–१६ का ४१ वर्षीय वसन्त खरेल छन् । विकको साथबाट प्रहरीले भारु ५ सय दरको १ हजार ८ सय थान गरी कुल भारतीय रुपैयाँ ९ लाख बरामद गरेको छ। 
प्रहरीले कपिलवस्तुकोमायादेवी–८ का ३८ वर्षीय सोमनाथ कसौधन र उनका साथी कपिलवस्तु–११ का शेषनारायण गिरीलाई पनि पक्राउ गरेको छ । कसौधनको साथबाट प्रहरीले स्रोत नखुलेको १४ लाख ५० हजार नेपाली रुपैयाँ बरामद गरेको छ । 
स्रोत नखुलेको भारु सटही कारोबार भइरहेको सूचनाको आधारमा वाणगंगा–४ जितपुर चोकस्थित केसी फेन्सी पसलको अण्डर ग्राउण्डमा रहेको कपडा गोदाममा प्रहरीले छापा मारी ४ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका दुई समूहले अवैध रूपमा नेपाली रुपैयाँ र भारु किनबेचन गरिरहेको हुन सक्ने प्रहरीको अडकल छ । बरामद रकम सहित ४ जनालाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले बताएको छ ।