विराटनगर- सप्तरीमा ड्युटीको बेला प्रहरी कर्मचारीले मोबाइल चलाउन नपाउने भएका छन् ।
जिल्ला प्रहरी कार्यालयले ड्युटी गरिरहेका बखत कमान्डरबाहेक अन्य प्रहरीले मोबाइल चलाउन नपाइने आचार संहिता बनाएको छ । कमान्डरले पनि अत्यावश्यक परेको खण्डमा मात्र ड्युटीकै कामका लागि मोबाइल प्रयोग गर्न पाउँछन् ।
ड्युटीमा प्रहरीले मोबाइल चलाउदा सुरक्षा निगरानी प्रभावकारी हुन नसकेको, दैनिक कामको गुणस्तर खस्कने गरेको र मोबाइलतर्फ ध्यान हुँदा प्रहरी आफै पनि असुरक्षित हुन सक्ने भएकाले सावधानीका लागि रोक लगाएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले बताए ।
यो नियमलाई सप्तरी प्रहरी कार्यालयले कडाइका साथ कार्यान्वयन गरेको छ । प्रहरीले छुट्टै टोली पठाएर पनि ड्युटीमा तैनाथ प्रहरीसँग मोबाइल छ/छैन भनेर चेक गर्छ ।
ड्युटीमा पनि प्रहरीहरु मोबाइलमा लामो समय गफिदै बस्ने, नागरिकका समस्या ध्यानले नसुन्ने र फेसबुक, टिकटक लगायत सामाजिक सञ्जालमा व्यस्त रहने जनगुनासोपछि ड्युटीका बेला मोबाइल प्रयोगमा रोक लगाइएको एसपी खतिवडाले बताए ।
भारतको दिल्ली प्रहरीले पनि यो नियम लागू गरेको छ । जिम्बाम्बे लगायत विश्वका धेरै देशका सरकारले प्रहरीलाई संभावित घातक सुरक्षा जोखिमबाट जोगाउन ड्युटीमा मोबाइलको प्रयोगमा बन्देज लगाएको छ ।