विराटनगर-   '१२ वर्षपछि खाेला फर्किन्छ भन्थे , एमाले माेरङकाे मत  परिणामले  त्यस्तै देखाएकाे छ ।  प्रधानमन्त्री केपी ओलीकाे निर्देशनमा पार्टीकाे  जिल्ला , प्रदेश र केन्द्रकाे सिंगाे शक्ति लाग्दा  समेत  नेता विनाेद ढकालले नेतृत्व गरेकाे इतर समूह प्यानल सहित विजयी भएकाे छ । एमालेकाे राजनीतिमा फेरि ढकालकाे उदयले संस्थापन पक्षलाई ठूलै झड्का लाग्ने देखिन्छ ।'

वरिष्ठ सञ्चारकर्मी शेखर रेग्मीले सामाजिक सञ्जाल फेसबुकमा राखेको यो विचारले ओलीकै अहम र उसका आसेपासेले  एमालेभित्रको गुटबन्दीलाई मलजल गरिरहेको छर्लङ्ग हुन्छ । मोरङको चुनावी परिणामले एमाले गुट हो वा पार्टी ? खुट्याउन गाह्रो भएको छ । तर यो चुनावले एमालेलाई 'गुट होइन, पार्टी बन,' भनेर सतर्क गराएको छ । 

मुलुकको समग्र राजनीतिक, शैक्षिक, सामाजिक र आर्थिक क्षेत्रमा प्रभाव पार्ने मोरङको चुनावको परिणाम हो यो ‌। स्थानीयदेखि केन्द्र तह सम्मका नेताले एकताको गफ दिए पनि अब केही लुकेको छैन‌ । यसपाली ओलीको होली खल्लो हुने पक्कापक्की छ ।

एमाले मोरङको दसौं अधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका उम्मेदवार पराजित हुनुलाई सामान्य निर्वाचन प्रक्रिया भनेर चित्त बुझाउनु नेता-कार्यकर्ताहरुको अर्को भुल सावित हुनेछ । यो सोचले २०८४ को आमनिर्वाचनमा एमालेको जहाज डुबाउन बेर छैन ।‌

मननीय के छ भने संस्थापनइतर समूहको प्यानलै विजयी भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको मोरङ–सुनसरी दौडाहालाई यहाँ छुटाउन मिल्दैन। गत माघमा भण्डारीले राजनीतिमा पुनरागमनको संकेत गर्दै सक्रिय भएकी छन् । मोरङमा पनि उनले ओलीसँग असन्तुष्ट नयाँ–पुराना एमाले कार्यकर्तासँग छलफल गरेकी थिइन् । भण्डारीको राजनीतिक धार प्रष्ट नभए पनि उनको पार्टीभित्रको प्रभाव भने दह्रो देखिन्छ । राष्ट्रपति भइसकेर पनि राजनीतिमा पुनरागमन गर्ने उहाँको आकांक्षालाई दलको आन्तरिक चुनावी परिणामले बल पुर्याउँछ ।

कुनै बेला ओलीको निकट मानिने नेता विनोद ढकालले मोरङ जिल्ला अधिवेशनमा संस्थापनइतर समूहको नेतृत्व गरेका हुन् । माधवकुमार नेपाल पार्टीभित्र अटाएको बेला ढकाल ओली पक्षकै थिए । ओलीसँग उनको मनमुटावको सुरुवात २०८० असोजको प्रदेश अधिवेशनबाट भएको हो ।

ढकालले प्रदेश अध्यक्षमा दाबी गरिरहँदा ओलीका अघोषित सल्लाहकार मानिने नेताहरू गुरु बराल, शेरधन राई, भानुभक्त ढकाल, हिक्मत कार्की गुटले ढकाललाई छेउ लगाएर घनश्याम खतिवडालाई पोस्ने काम गरे ‌।

२०७४ मा शेरधन राई मुख्यमन्त्री बने । तर यो बेला सम्म  ढकालको राई र कार्कीसँगको सम्बन्ध नीकै कमजोर भइसकेको थियो ।  उनीहरुले समर्थन गरेको खतिवडालाई ओलीले अनुमोदन गरिदिए पछि ढकाल एक्लिए । प्रदेश अधिवेशनमा ढकाल पराजित भए । यहाँबाट फाँटोसँगै  ढकालको एकल युद्ध आरम्भ भयो । उनी किन चुप बस्थे ?

लामो समयदेखि मौन तर  कडा गृहकार्य गरिरहेका ढकालले  जिल्ला अधिवेशन मार्फत मोरङमा आफ्नो तागत देखाए । पार्टीको यो आन्तरिक निर्वाचनको अघिल्लो राति सम्म ओली पक्ष भनिएकाबाट मतदातालाई प्रलोभन दिइयो, डर देखाइयो र कारवाहीको चेतावनी समेत दिइयो भनेर पनि सार्वजनिक भएकै तथ्य हुन् ।

ढकालले बाहिरबाहिर आफूलाई अझैँ पनि ओली समूहकै सदस्य बताउँछन् । तर चुनावी परिणामले यथार्थ भनिसकेको छ । एमाले मोरङको अधिवेशनले दलभित्रको किचलो, असन्तुष्टि र अस्तित्वका लागि भएको संघर्षलाई छताछुल्ल पारेको छ । 

यो परिस्थितिका लागि जिम्मेवार भने अध्यक्ष ओलीलाई भ्रममा राखेर फाइदा लुट्ने आसेपासेहरु हुन् । अध्यक्षलाई भुलभुलैयामा पारिरहनेमा नेता मात्रै छैनन्, स्थानीयदेखि केन्द्र सम्म पहुँच राखेर राजनीतिक, पदीय एवं आर्थिक लाभ लिनमा माहिर पत्रकार पनि छन् । यो अधिवेशनमा एमालेका पत्रकारहरु पनि खुलेरै मैदानमा आएका देखिए ।

अधिवेशनको उद्घाटनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा उपाध्यक्ष रामबहादुर थापा बादलले ‘गुटबन्दी सह्य नहुने’ चेतावनी दिएका थिए । सहमतिमा नेतृत्व चयन गर्न आह्वानको रुपमा दबाब दिएका थिए । पार्टी स्रोतका अनुसार आफूलाई एमाले मोरङको ठेकेदार ठान्ने नेताहरुले नै ओलीलाई यस बारेमा सुनाउँदै अर्को पक्षलाई चेतावनी दिन सुझाएका थिए । ओलीले बादल मार्फत आफ्नो सन्देश पठाए‌‌ ।

ओलीकै बोली बादलले मोरङमा दोहोर्याएका थिए । आखिरमा जसको सन्देह थियो, त्यही नै भयो । मोरङमा ओलीको हप्कीदप्कीको असर परेन । त्यसलाई अवज्ञा गर्दै चेतावने मनस्थितिमा भुइँका नेता-कार्यकर्ताहरु पुगे ।  पार्टीभित्रको मनपरीतन्त्र विरुद लोकतान्त्रिक समूहले जित्यो । 

यो जनमत भनेको नेपालको संविधानले पनि अंगिकार गरेको लोकतन्त्रको सम्मान हो । किनकी ढकाल पक्ष चुनावबाट एमाले मोरङको नेतृत्वमा उदाएका हुन् ‌। यो चुनावले एमालेका आमनेता तथा कार्यकर्ताको चाहना प्रतिबिम्बित गरेको छ ।