केपी शर्मा ओलीको औपचारिक शिक्षा अधुरो छ। तर त्यो अधुरो प्रमाणपत्रले उनको भिजेको आँखा, जेलको चिसो कोठामा काप्दै पढे, पढाएका शब्द र क्रान्तिको सपना देखाउने ऊर्जा मेटाउँदैन। उनले प्रमाणपत्र त पाएनन्, तर उनलाई पढ्नेहरू छन्, अनुकरण गर्नेहरू छन्।

विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीप्रति ‘८ कक्षा फेल’ भन्ने होच्याउने टिप्पणीहरूबारे पत्नी राधिका शाक्यले सार्वजनिक रूपमा चित्त दुखेको बताएकी छन्। काभ्रेमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै राधिकाले आफ्नो श्रीमान् ओलीमा भएको जीवनपाठ र बौद्धिक गहिराइको तुलना औपचारिक प्रमाणपत्रसँग गर्न नमिल्ने प्रस्ट पारेकी हुन्।

‘मैले दुई विषयमा मास्टर्स गरेको छु,’ भन्दै राधिकाले भनिन्, ‘अस्तिको शिक्षक आन्दोलनमा पनि सुनेँ,‘८ कक्षा फेल भएको मान्छेले देश चलाउने, हामी यत्रा पढेका शिक्षक सडकमा आन्दोलन गर्नुपर्ने?’तर म विनम्रताका साथ भन्न चाहन्छु, मेरो दुई डिग्रीको मूल्य ओलीको जीवन अनुभव र ज्ञानको अगाडि केही होइन।’

सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडियोमा उनले केपी ओलीको औपचारिक शिक्षाको अभावबारे प्रष्ट्याउँदै भनेकी छन्, ‘उहाँ जेलमा हुनुहुन्थ्यो। गुरु बनेर उहाँले अरूलाई पढाउनुहुन्थ्यो। तर आफूचाहिँ कहिल्यै प्रमाणपत्र लिनु भएन, किनकि प्रमाणपत्र लिएर कुनै जागिर खाने लक्ष्य नै थिएन। उहाँका लागि राजनीति मिशन हो, पेशा होइन।’

राधिकाका अनुसार ओलीले जेलमा रहँदा पनि पुस्तक, विचार र जनताको भविष्यमा नै समय खर्चिन्थे। ‘उहाँले जेलमा पनि साथीहरूलाई पढाइदिनुहुन्थ्यो। उहाँको दिमागमा जुनसुकै बेला देश र जनता बाहेक अरू केही थिएन,’ उनले भावुक हुँदै भनिन्।

साथै राधिकाले ओलीलाई अनपढ भन्नेहरूप्रति आक्रोशसमेत व्यक्त गरिन्। ‘आज म दुई डिग्री हासिल गर्न सकेकी छु, किताब लेखेकी छु, त्यसको प्रेरणा ओली नै हुन्। उहाँले पढ, लेख, सिक भनेको सुनेर मैले सुरुमा त बेवास्ता गरेँ, तर दिनहुँको घोचपेचले अन्ततः लेख्ने–पढ्ने र सोच्ने बानी बसाल्न बाध्य भएँ,’ राधिकाले सुनाइन्।

यो भनाइले ओलीको औपचारिक शिक्षा नभए पनि उनको वैचारिक गहिराइ, देशप्रेम र जनताप्रतिको प्रतिबद्धतालाई उजागर गर्छ। सर्टिफिकेटले होइन, दृष्टिकोण र समर्पणले नेतृत्वको मूल्यांकन हुनुपर्छ भन्ने राधिकाको भनाइ धेरैका लागि सोचनीय बन्दै गएको छ।

नेतृत्व भन्ने कुरा सधैँ कागजी प्रमाणपत्रले नाप्न मिल्ने विषय होइन। इतिहासका अनेक उदाहरणले देखाउँछ—महान नेता, विचारक, क्रान्तिकारीहरू औपचारिक शिक्षाको सीमाभन्दा धेरै माथि उठेर समाजलाई दिशा दिन सफल भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रसंग पनि त्यस्तै गहिरो बहसको द्वार खोल्छ। विद्यालय–कलेज नगएर पनि वैज्ञानिक भएका र पढ्न नसकेर कलेज छाडेकाले विकास गरेको सूचना प्रविधि र सामाजिक सञ्जालले विश्वमा शासन गरिरहेको छ ।

राधिकाको भनाइमा भावनाको मात्र अभिव्यक्ति छैन, एक गहिरो सन्देश पनि छ—शिक्षाको मापन प्रमाणपत्रबाट मात्र होइन, विचार, प्रतिबद्धता र योगदानबाट गर्नुपर्छ। यो सन्देश नेपालको जस्तो प्रमाणपत्रमुखी समाजमा झन् सान्दर्भिक देखिन्छ, जहाँ नेताको मूल्यांकन कक्षा, डिग्री वा अंग्रेजी बोलेको शैलीमा गरिन्छ, न कि उनीहरूले देखाएको दृष्टिकोण र निष्ठामा।

केपी ओलीलाई ‘८ कक्षा फेल’ भन्ने टिप्पणीहरू एक व्यक्तिको शैक्षिक कमजोरीभन्दा बढी, नेपालको राजनीतिक संस्कृतिमा गढेको चरित्र हत्याको प्रवृत्तिको प्रतिबिम्ब हुन्। आलोचना गर्नु अस्वाभाविक होइन, तर आलोचनामा विचारको स्तर हुनुपर्छ—अन्यथा त्यो प्रतिशोधको औजार मात्रै बन्छ।

राधिका शाक्यको भनाइले यो यथार्थ पनि प्रकट गर्छ—केपी ओलीका अनुयायी मात्र होइन, उनको नजिकको परिवार पनि उनलाई केवल श्रीमान् हैन, एउटा विचार, प्रेरणा र राजनीतिक शुद्धताको प्रतीकका रूपमा हेर्छ। उनका विचार, निर्णय र बोलाइप्रति भित्रैदेखि गर्व गर्नु, उनको जीवनशैलीसँग आफैलाई जोडेर बुझ्नु, पत्नीको भूमिकाभन्दा पनि एक ‘साक्षी’को दृष्टिकोण हो—जो सधैँ नजिक रहेर एक नेताको निर्मिति देखिरहेकी छन्।

केपी शर्मा ओलीको औपचारिक शिक्षा अधुरो छ। तर त्यो अधुरो प्रमाणपत्रले उनको भिजेको आँखा, जेलको चिसो कोठामा काप्दै पढे, पढाएका शब्द र क्रान्तिको सपना देखाउने ऊर्जा मेटाउँदैन। उनले प्रमाणपत्र त पाएनन्, तर उनलाई पढ्नेहरू छन्, अनुकरण गर्नेहरू छन्।

राधिकाले भनेझैं ‘उहाँले कहिल्यै हाकिम हुने सपना देखेनन्—शायद यसले नै ओलीलाई जनताको राजनीतिमा फरक बनायो। जब एक व्यक्ति पद वा जागिरको लागि होइन, सिद्धान्तका लागि लड्छ, तब त्यो शिक्षा भन्दा गहिरो हुन्छ। त्यो नै असली ’ज्ञान’ हो—जीवनका संघर्षबाट सिकिएको, विचारधाराबाट पोषित र समर्पणबाट सिद्ध भएको।

हिजो शिक्षा नभएको आरोपमा अपमान गरिएका मानिसहरूले आज देश बनाइरहेका छन्। के अब नेतृत्व मापन गर्ने दृष्टिकोण फेरिनुपर्ने बेला आएन ?