विराटनगर । विराटनगरमा जारी ९ औँ संस्करणको रात्रीकालिन विराट गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा पुगेका सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र थ्रीस्टार क्लब उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । 

सहिद रंगशालामा बुधबार ६ बजेदेखि हुने फाइनल खेलमा चर्च ब्वाइज पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिँदै छ भने थ्रीस्टार दोस्रो पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा छ ।
 
थ्रीस्टारले मछिन्द्र र त्रिभूवन आर्मीलाई पराजित गर्दै विराट गोल्डकपको फाइनलमा पुगेको छ । थ्रीस्टारले क्वाटरफाइलनमा मछिन्द्रलाई २–१ गोलले र सेमिफाइनलमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले पराजित गर्दैै फाइनलमा पुगेको हो । 

विराट गोल्डकपको पहिलो पटक फाइनलमा पुगेको चर्च ब्वाइजले एनआरटी र नेपाल पुलिसलाई हराउँदै फाइनल यात्रा तय गरेको हो । चर्च ब्वाईजले क्वाटरफाइलमा एनआरटीलाई २–० ले र सेमिफाइनलमा पुलिसलाई १–० गोलले हराएर फाइनलसम्मको यात्रा तय गरेको छ । 

चर्च ब्वाइज र थ्रीस्टारबीच यो सिजनमा पहिलो पटक आमुन्नेसामुन्ने हुँदैछ । लिग बिजेता चर्च ब्वाइजले मछिन्द्र र पुलिस जस्तो सशक्त टिमलाई पराजित गरेर फाइनल यात्रा तय गरेकाले खेलाडीहरुको मनोबल उच्च देखिएको छ  ।

यता, थ्रीस्टार पनि दोस्रो पटक गोल्डकपको उपाधि जितेर इतिहास रच्ने दाउसहित मैदान प्रवेश गर्ने लक्ष्यमा छ । थ्रीस्टार पाँचौ संस्करणको विराट गोल्डकपको उपाधि जितेको थियो । त्यसबेला आर्मीलाई ३–० गोलले फाइलनमा हराउँदै थ्रीस्टारले उपाधि हात पारेको थियो । 

चर्च ब्वाइजले यो सिजनमा चार वटा गोल्डकपको उपाधि जित्ने लक्ष्य लिएको छ । यो सिजनमा ९ वटा खेलमा ८ वटा गोल्डकपको फाइलनमा पुग्दा तीन वटा चर्च ब्वाइजले उपाधि जितेको छ । फिदिम फागुनन्द, झापा कप, र बागमती गोल्कडपको उपाधि चर्च ब्वाइजले जितिसकेको छ ।
 
सहिद रंगशालमा मंगलबार भएको प्रि–म्याच कन्फ्रेन्समा विराट गोल्डकपको फाइनल अघि दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन् । चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले विराट गोल्डकपमा पहिलो पटक फाइलनमा पुगेकोले टिमको लक्ष्य उपाधि जित्नु रहेको बताए । 

‘यो सिजनमा हामीले मोफसलमा भएको तीन वटा गोल्डकपको उपाधि जित्दै विराट गोल्डकपको फाइनलमा पुगेकोले उपाधि उचालेर इतिहास रच्ने लक्ष्य छ,’ प्रशिक्षक श्रेष्ठले भने,’ विराट गोल्डकपसहित यो सिजनको चार वटा उपाधि हामी जित्ने योजनामा छौं ।’ 

चर्च ब्वाइजका कप्तान एकराज बुढाथोकीले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गरे । पहिलो पटक फाइनलमा पुग्नु उपलब्धि भएको भन्दै उनले उपाधि जित्ने विश्वास व्यक्त गरे । ‘थ्रीस्टार पनि राम्रो टिम हो । फाइलनमा हामी टेक्निकल खेल प्रर्दशन गर्नेछौं र उपाधि कब्जा गर्ने हाम्रो एक मात्र लक्ष्य छ,’ उनले भने । 

यता, थ्रीस्टारका प्रशिक्षक गणेश खड्काले  मोफसलमा हुने प्रतिष्ठित विराट गोल्डकपको उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने बताए । ‘फाइलनमा हामीले क्याप्टेन योगेश गुरुङलाई धेरै मिस गर्नेछौं । डबल येल्लो कार्ड पाएकाले फाइलनमा कप्तान योगेशको खेल हेर्न पाउने छैनौ । तर पनि हामी उत्कृष्ट खेलाडी ल्याउनेछौं,’ उनले भने ।

फाइलनमा टिमको कप्तानी कसले सम्हाल्ने जिज्ञासामा उनले भने, ‘अहिले हामी टिम वर्कमा छौं । फाइनलमा कसलाई क्याप्टेनको जिम्मा दिने त्यो खेल अगाडी मात्रै थाहा हुनेछ । अहिले हामी छलफलमा छौं ।’ थ्रीस्टारका कप्तान योगेश गुरुङले आफु फाइनलमा मैदान प्रवेश नगरेपनि राम्रो टिमवर्क भएकोले उपाधी जित्ने गरि खेलाडी मैदान उत्रिने बताए । प्रतिस्पर्धी टिम बलियो भए पनि रणनीति अनुरूप खेल्दै आफु नभएपनि उपाधि जित्नेमा ढुक्क रहेको उनले बताए । 

फागुन १९ गतेबाट सुरु भएको गोल्डकपमा दुई विदेशीसहित ‘ए’ डिभिजनका १० टिमको सहभागीता रहेको थियो ।  प्रतियोगिताको बिजेताले  ११ लाख र उपबिजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी उत्कृष्ट प्रशिक्षकलाई १५ हजार, उत्कृष्ट गोलरक्षकलाई १५ हजार, सर्वाधिक गोलकर्तालाई  नगद १५ हजार पुरस्कार प्राप्त गर्ने छन् ।