विराटनगर– फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो दुतेर्तेलाई मानवताविरुद्ध अपराधको आरोपमा मंगलबार प्रहरीले पक्राउ गरेको छ । फिलिपिन्सको मावअधिकारका लागि अन्तर्राष्ट्रिय गठबन्धनले उनको पक्राउलाई ‘ऐतिहासिक क्षण’ भनेको छ ।

दुतेर्तेले सन् २०१६ देखि २०२२ सम्म दक्षिणपूर्वी एशियाली राष्ट्र फिलिपिन्सको राष्ट्रपति रहँदै नशालु पदार्थविरुद्ध अभियानसँगै क्रुर कारबाही चलाएका थिए । यसमा हजारौंले ज्यान गुमाएका थिए । यसअघि सम्भावित पक्राउलाई लिएर उनले जेल जानका लागि आफू तयार रहेको बताएका थिए । 

अन्तर्राष्ट्रिय अपराध न्यायालय (आईसीसी)ले उनीविरुद्ध मानवताविरुद्धको अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो । हङहङबाट फर्किएका दुतेर्तेलाई प्रहरीले फिलिपिन्सको राजधानी मनिला विमानस्थलबाट पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।