विराटनगर– वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने बहानामा लाखौँ रुपैयाँ ठगेको आरोपमा तीन जना पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई फरक–फरक स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका–२ बस्ने नुवाकोट विदुर–१३ का २८ वर्षीय जसमान तामाङ, काठमाडौँका ३६ वर्षीय भूपाल श्रेष्ठ र नागार्जुन–५ बस्ने स्याङ्जा गल्याङ–४ का ४८ वर्षीय मिन बहादुर थापा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तामाङले पोल्याण्ड पठाइदिने भन्दै दुई जना पीडितबाट ५ लाख २० हजार रुपैयाँ ठगेका थिए। श्रेष्ठले क्यानडा पठाइदिने नाममा तीन जना पीडितबाट ८ लाख रुपैयाँ असुलेका थिए। थापाले पनि क्यानडा पठाइदिने भन्दै तीन जनाबाट ७५ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।

पीडितहरूको उजुरीको आधारमा प्रहरीले तामाङलाई मंगलबार काठमाडौँ–१२ बाट, श्रेष्ठलाई बुधबार काठमाडौँ–२६ बाट र थापालाई सोही दिन नागार्जुन–५ बाट पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।