विराटनगर– खानेपानी संस्थान विराटनगरले वितरण गर्दै आएको पानीको धारामा लेदो सहितको धमिलो पानी नियमित आएपछि स्थानीय आन्दोलनमा उत्रिन बाध्य भएका छन् । धारामा नियमित धमिलो पानी आइरहेको समस्या समाधानका लागि संस्थान, महानगर र वडामा समेत पटक पटक धाउँदा पनि समाधान नभएकोले आन्दोलनमा उत्रिन बाध्य भएको स्थानीयको गुनासो छ ।
४÷५ बर्षदेखिको यो समस्याको कुनै सुनुवार्इ नभएको र खानेपानीको फिल्टर जडान गर्न अनुरोध गर्दा खानेपानी संस्थानले जग्गा उपलब्ध नभएको भनी पञ्छिदै आएकाले नारावाजी गर्दै महानगरको वडा ४ कार्यालयमा धर्ना बसेर तालाबन्दी गरेका थिए । स्थानीयको विरोध पछि वडा अध्यक्ष जितन थापाले सम्स्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए पनि स्थानीय आस्वस्त हुन सकेनन् र लेदो सहितको पानी बोकेर विरोधमा लागे ।
नगर प्रहरी निरीक्षक राजन पौडेल वडामा पुगेर सम्स्या समाधानका लागि वार्ता गर्न मेयरले महानगर बोलाएको अनुरोध गरेपछि आन्दोलनकारी महानगर प्रमुख नागेश कोइरालालाई भेटेका थिए । प्रमुख कोइरालाले जनताको समस्या आफ्नो समस्या भएको भन्दै समाधानका लागि फिल्टर राख्न महानगरले जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
खानेपानी सस्थान विराटनगरका प्रमुख सन्तोष रौनियारलाई मेयर कोइरालाले आफ्नै सामुनेमा बोलाएर समाधानका लागि उपाय खोज्न आग्रह गरेका थिए । रौनियारले फिल्टर राख्न जग्गा उपलब्ध भए तत्काल समस्या समाधान गर्ने भनेपछि कोइरालाले कार्यपालिका बैठकले निर्णय गरी जग्गा उपलब्ध गराउने बचनबद्धता जनाए ।