विराटनगर– नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को स्ववियू निर्वाचनमा आधिकारिकता विवादका कारण महेन्द्र मोरङ क्याम्पस विराटनगरको निर्वाचन समितिको कार्यालयमा गरिएको तालाबन्दीका बीच समितिले बिहीबार साँझ उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । 

निर्वाचन अधिकृत शुशिल अधिकारीले असन्तुष्ट विद्यार्थीहरुसँथ बिहीबार दिउँसो वार्ता गरे पनि बिना निष्कर्ष टुंगिएपछि अन्तिम नामावली प्रकाशन गरेको हो । असन्तुष्ट विद्यार्थीहरुले तालाबन्दीका बिीच निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गरेर क्याम्पसलाई रणभूमि बनाउने षडयन्त्र गरिरहेको आरोप लगाए । 

नेविसंघले बुधबार राती पुनः तालाबन्दी गरेको छ । उक्त विवादले असन्तुष्ट विद्यार्थीहरु बुधबार क्याम्पसको निर्वाचन कार्यालयमा आगजनी गर्नुका साथै तालाबन्दी गरेका  थिए । प्रहरीले ताला फुटाएर चार जनालाई पक्राउ गरेको थियो । प्रहरीले पक्राउ परेकाहरुलाई बुधबार नै छोडेपछि पुनः तालाबन्दी गरेको हो । 

निर्वाचन समितिले स्वतन्त्र सूचीमा उम्मेदवारको नामवली प्रकाशन गरेकोले प्यानल बनाएर उम्मेदवारी दिएका शेखर कोइराला समूहको कांग्रेस निकट नेविसंघको अध्यक्षका उम्मेदवार योगराज दाहाललगायतका उम्मेदवारहरु आयुश दाहाल, नेविसंघ मोरङ सचिवसमेत रहेका गुड्डु साह, केन्द्रीय सदस्य पूजा विश्वाससमेतले तालाबन्दी गरेको छ । यी चार जनालाई नै प्रहरीले पक्राउ गरेको थियो । 

उनीहरुले निर्वाचन समितिले अबैध मतदातासहित सार्वजनिक गरेको अपारदर्शी मतदाता नामावली सच्याउन, स्ववियू कोष दुरुपयोग गरिएकोले हिसाब सार्वजनिक, निर्वाचन समितिले स्ववियू निर्वचनमा निष्पक्षता नअपनाइ एक पक्षको पक्षपोष्ण हुने निर्णय सच्याउन, क्याम्पस प्रशासनले आर्थिक पारदर्शीता कायम नगरेकोले हिसाब सार्वजनिक गर्न माग गर्दै तालाबन्दी गरेको हो ।

यो पनि
नेविसंघको आधिकारिक्ता विवादले महेन्द्र मोरङ क्याम्पसमा पुनः तालाबन्दी
नेविसंघको आधिकारिक्ता विवादले महेन्द्र मोरङ क्याम्पसमा लगाइएको ताला प्रहरीले फुटाए, चार जना पक्राउ

निर्वाचन समितिले नेविसंघको केन्द्रीय कार्यालयको फर्जी लेटरप्याडमा लेखिएको आधिकारिकतालाई मान्यता दिँदै वास्तविक आधिकारिकता प्राप्त समूहले स्ववियू निर्वाचनमा दिएको उम्मेदवारीलाई स्वतन्त्र सूचीमा राखेको भन्दै उनीहरु आन्दोलनमा उत्रेका छन् । 

नेविसंघ केन्द्रीय कार्यालयको लेटरप्याडमा केन्द्रीय सभापति दुजाङ शेर्पाको हस्ताक्षरित आधिकारिक्ता पत्र दुबै समूहले निर्वाचन समितिमा पेस गरेको छ । उनेविसंघको संस्थापन पक्षका अध्यक्ष उम्मेदवार प्रज्वल विष्ट आधिकारिक उम्मेदवार भएको दुई वटा पत्र सार्वजनिक भएको छ र शेखर कोइराला समुहका अध्यक्ष उम्मेदवार योगराज दाहालको मात्रै नाममा अर्को पत्र सार्वजनिक भएको हो । दुबै समूहको आधिकारिकता पत्रमा चलानी नम्बर नहुनुका साथै भाषासमेत फरक रहेको छ ।

विष्टको नाममा फाल्गुन २७ गतेको नै छुट्टाछुट्टै दुई वटा आधिकारिक्ता पत्र सार्वजनिक भएकोले नेविसंघको आधिकारिक उम्मेदवार को भएको ठम्याउन कठीन देखिएको छ । तर निर्वाचन समितिले दुई वटा पत्र पेस गर्ने विष्टलाई आधिकारिक र दाहाललाई स्वतन्त्र उम्मेदवार घोषणा गरेपछि विवाद चुलिएको हो ।

शेखर कोइराला समूहका अध्यक्ष उम्मेदवार योगराज दाहालले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी यथावत राख्दै कानूनी उपचार खोज्ने तयारीमा जुटेको बताए ।