विराटनगर —डिभिजन वन कार्यालय मोरङको तथ्यांकअनुसार २०६८ यता हात्तीको आक्रमणबाट १६ जनाको ज्यान गएको छ ।

यसअवधिमा नौ वटा हात्तीको पनि मारिएको उक्त कार्यालयले जनाएको छ । उसको अनुसार चार  हात्ती प्राकृतिक कारणले, तस्करी चोरी सिकारीबाट दुई , गोली हानेर एउटा , बेवारिसे एउटा र करेन्ट लागेर एउटा हात्तीको मृत्यु भएको छ ।

गत वर्षदेखि मोरङको पूर्वपश्चिम राजमार्ग क्षेत्रमा जंगली हात्तीको बिज्याइँ बढेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिले जनाएको छ । हरेक राति जंगली हात्ती बस्तीमा छिरेर त्रसित बनाइरहेको र बालीनाली खाइदिएर हैरान पारेको कृषकको गुनासो छ । 

दिउँसो जंगलमा रहने हात्तीका हुल साँझ परेसँगै आहाराको खोजीमा बस्ती पस्छ  । हात्तीले घर भत्काइदिने, बाली खाइदिने र आक्रमण गर्ने डरले रातभर जागा बस्नुपर्ने स्थानीय बताउँछन् ।

जंगली हात्ती मानवबस्तीमा पस्न थालेपछि प्रदेश वन विकास तथा व्यवस्थापन कार्यक्रमअनुसार ‘एक समुदायिक वन एक संरक्षण पोखरी’अन्तर्गत वन क्षेत्रमा पोखरी खन्न थालिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्नका लागि वन क्षेत्रमा करिव १५७ दशमलव ८ हेक्टर क्षेत्रमा खानयोग्य फलजन्य प्रजातिका बिरुवा रोपिएको उक्य कार्यालयले बताएको छ।

फलजन्य प्रजातिमा बेल, अमला, कटहर, बडहर, किम्बु, हर्रोबर्रो, सरिफा, अम्बालगायत बिरुवा रोपिएको कार्यालयले जनाएको छ ।