काठमाडौं, १३ वैशाख — आज शनिबार देशका कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने भएको छ। बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

यस्तै, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

शनिबार राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।

हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागहरूमा तातो लहरको समेत सम्भावना रहेको हुनाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।