विराटनगर– त्रिभुवन विश्वविद्यालय अन्तगर्तका विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी र डिग्री क्याम्पसलगायत देशभरिका १४ वटा आंगिक क्याम्पसमा स्ववियू निर्वाचन स्थगित भएको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को संस्थापन र शेखर कोइराला समूहबीचको विवादले चैत ५ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित गरिएको त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको हो ।
विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुर, काठमाडौंको नेपाल ल, सरस्वती, विश्वभाषा, पब्लिक युथ क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ, रामसागर बहुमुखी क्याम्पस बिरगञ्ज, सिद्धबाबा, सुर्खेत बहुमुखी, बुटवल बहुमुखी लगायतका आंगिक क्याम्पसमा उम्मेदवारको आधिकारिक्ता र सदस्यता विवादले हाललाई निर्वाचन स्थगित गरिएको निर्देशनालय प्रमुख पशुपति अधिकारीले जानकारी दिएका छन् ।
अधिकारीका अनुसार विश्वविद्यालयका ४९ वटा आंगिक सहित ३ सयभन्दा बढी सामुदायिक क्याम्पसमा तोकिएकै मिति चैत ५ गते स्ववियु निर्वाचन हुन्छ । यी क्याम्पसहरुको निर्वाचन सकिएको १५ दिनभित्र बाँकी १४ वटा क्याम्पसमा स्ववियू निर्वाचन गरिने उनको भनाइ थियो ।