गाजा सिटी(बीबीसी) – दक्षिण गाजाको खान युनिस सहरमा इजरायली हवाई आक्रमणमा हमासका वरिष्ठ राजनीतिक नेता सलाह अल-बर्दावील र उनकी पत्नीको मृत्यु भएको छ। हमासका एक अधिकारीले बीबीसीलाई आइतबार बिहान जानकारी दिएका हुन्।​

स्थानीयका अनुसार हमासको राजनीतिक कार्यालयका सदस्य बर्दावील र उनकी पत्नी उक्त आक्रमणमा मारिएका हुन्। इजरायली अधिकारीहरूले यसबारे कुनै टिप्पणी गरेका छैनन् ।​ हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा गाजाका विभिन्न क्षेत्रमा ३२ प्यालेस्टिनीको मृत्यु भएको छ।​

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको अप्रत्याशित आक्रमणमा करिब १ हजार २ सय  जनाको मृत्यु र २ सय  ५१ जनाको अपहरण भएपछि इजरायली सेनाले हमासलाई नष्ट गर्न व्यापक सैन्य अभियान सुरु गरेको थियो। त्यसयता हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, गाजामा ४९ हजार ५ सय  भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ ।​ स्ट्रिपमा घर तथा पूर्वाधारमा ठूलो मात्रामा क्षति पुगेको छ।​

इजरायली सेनाले जनवरी १९ मा सुरु भएको दुई महिनाको शान्ति अन्त्य गर्दै मंगलबार गाजामा ठूलो आक्रमण पुनः सुरु गरेको छ। इजरायलले हमासलाई दोष दिएको छ भने हमासले इजरायललाई कतार, इजिप्ट र अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाएको छ।​