विराटनगर– श्रीहरी सत्सँग समितिले पुरातन धर्म संस्कृतिको जगेर्ना, संरक्षण तथा संबर्द्धनका लागि विराटनगरमा पाँच दिनसम्म राशलीला कार्यक्रमको आयोजना गर्न लागेको छ । विराटनगरस्थित अतिथि सदनमा चैत ५ गतेदेखि ९ गतेसम्म वृन्दावनको कलाकलारहरुले राशलीला प्रदर्शन गर्दे आयोजक समितिका संयोजक महेशकुमार साह स्वर्णकारले बताएका छन् ।

राशलीला कार्यक्रमको त्रीदण्डी चिन्ना स्वामीको उपस्थितिमा प्रदेश प्रमुख पर्शुराम खापुङ्ले उद्घाटन गर्ने उक्त कार्यक्रममा प्रत्येक दिन सुरुमा स्थानीय सांस्कृतिक नृत्य, संगीत प्रदर्शन गरेपछि राशलीला प्रदर्शन गर्ने समितिका अध्यक्ष भीखम चन्द सरलले बताएका हुन् । उनले थारु, सन्थाल, मैथिली र मारवाढी समुदायको सांस्कृतिक नृत्यको प्रस्तुति हुने जानकारी दिए ।  साँझ ६ बजेदेखि राती ९ बजेसम्म कार्यक्रम सञ्चालन हुन्छ ।

समितिले तीन दशक अघिदेखि नेपालमा सुरु भएको एकल अभियानले गाउँ गाउँमा शिक्षा र संस्कारबाट वञ्चित जनजाति तथा सिमान्तकृत बालबालिकालाई लक्षित गरी संस्कार केन्द्रहरू स्थापना गरेको थियो। यही अभियानको निरन्तरतामा २०७८ सालको बसन्त पञ्चमीको दिन श्रीहरि सत्संग समिति नेपालको स्थापना भएको हो।

हाल यो संगठन पाँच प्रदेश ९कोशी, मधेश, लुम्बिनी, सुदुरपश्चिम र बागमती० का १७ जिल्लामा ६४ जना पूर्णकालिक सेवावर्ती कार्यकर्ताहरूमार्फत आफ्नो अभियान सञ्चालन गरिरहेको छ। सत्संग, भजन, कीर्तन, प्रवचन, कथा, प्रदर्शनी झाँकी र पूजा, आरतीको माध्यमबाट तराई, पहाड, गाउँ गाउँमा धर्म र संस्कृति जागरणको कार्य भइरहेको अध्यक्ष सरलले बताए। स्थानीय ग्राम समितिहरूमार्फत हजारौं गाउँवासीहरू यस अभियानमा जोडिएका छन्।

‘मुलुकमा गैरकानूनी रूपमा भइरहेको धर्म परिवर्तनप्रति सचेत यस संगठनले विशेष पहल गदै आएको छ,’ उनले भने, ‘संस्थाले नेपालका ग्रामीण क्षेत्रमा मन्दिरसमेत नभएका र हिन्दु धर्मका देवताहरूको बारेमा ज्ञान नभएका गाउँहरूमा पुगेर जनचेतना फैलाउने काम गर्दैछ।’

संस्थाले एउटा नवीन प्रयोगअन्तर्गत “श्रीहरि रथ” तयार गरेको छ । जसमा श्री राम दरबार, लड्डू गोपाल तथा शिवलिंगका विग्रहसहितको मन्दिर र टिभी स्क्रिन जडान गरिएको छ। पाँच जनाको स्थायी सत्संग टोलीले रात्री प्रवासको समयमा भजन कीर्तन र कथा प्रस्तुत गर्दै गाउँ गाउँमा धर्म संस्कृति संरक्षणको कार्य गरिरहेको अध्यक्ष सरलले बताए। यसका साथै संस्थाले गाउँ गाउँमा सहभोज, लुगा वितरण, गीता तथा हनुमान चालिसा वितरण, रंगोली प्रतियोगिता, बालबालिकाद्वारा हनुमान चालिसा प्रतियोगिताजस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।

राशलीला कार्यक्रमलाई सफल बनाउन आयोजकले महेश कुमार स्वर्णकारको संयोजकत्वमा ५०५ सदस्यीय मूल आयोजक समिति र ३५ सदस्यीय कार्य सम्पादन समिति गठन गरेको छ। संगठनमा राष्ट्रिय अध्यक्ष भीखम चन्द सरल, महासचिव रामजीवन अग्रवाल, राष्ट्रिय महिला समिति अध्यक्ष गिरिजा शारडा छन् भने सम्भाग अध्यक्ष विद्यानन्द माझी, विराटनगर च्याप्टर कार्यवाहक अध्यक्ष देबेन्द्र कुमार गुप्ता र मोरङ जिल्ला अध्यक्ष ओम प्रकाश अग्रवाल छन् ।