सिरहा — सिरहाको औरही गाउँपालिकामा महायज्ञको नाममा दलित समुदायमाथि ज्यादती गरेको आरोपमा पक्राउ परेका गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव विरुद्ध अनुसन्धानका लागि अदालतले पाँच दिनको म्याद थप गरेको छ ।

सिरहाका प्रहरी प्रमुख एसपी रमेश पण्डितका अनुसार आइतबार सिरहा जिल्ला अदालतले जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको हो । उनीहरू शुक्रबार साँझ पक्राउ परेका थिए ।

फागुन १० मा औरही–५ मा आयोजना हुन लागेको महायज्ञका क्रममा अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाले महायज्ञस्थलमा रहेको दीपक मल्लिकको घरलाई ’अछुत’ भन्दै डोजर प्रयोग गरी भत्काइदिएका थिए ।
यस घटनापछि पीडित दीपक मल्लिकले जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा तीनै जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय, सिरहामा जाहेरी दर्ता गराएका छन् । जाहेरीमा जातीय छुवाछूत गरेको, घर तोडफोड गरी विस्थापन गरेको भन्दै कानुनी कारवाही र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ ।

नेपालको कानुनअनुसार जातीय छुवाछूतसम्बन्धी कसुरमा ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । यसै घटनामा अझै फरार रहेका बजरंगी बाबाको खोजीकार्य जारी रहेको जिल्ला प्रहरीले जनाएको छ ।