विराटनगर-  त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका क्याम्पस/कलेजहरूमा मंगलबार (चैत ५ गते) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदैछ । तर देशभरिका ९० क्याम्पसका छात्रछात्राले सर्वसम्मत नेतृत्व छाडिसकेका छन् ।

 ४८ आंगिक र साढे तीन सयभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा नेतृत्वका लागि तोकिएकै दिनमा निर्वाचन हुन्छ। त्रिवि केन्द्रीय क्याम्पस र १५ आंगिक क्याम्पसमा भने तोकिएकै मितिमा निर्वाचन नहुने भएको छ। आंगिक कलेजमा मनोनयन तथा भर्नासम्बन्धी विवादका कारण निर्वाचन नहुने अवस्था उत्पन्न भएको हो ।

त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा चार विद्यार्थी संगठनले केन्द्रीय क्याम्पस निर्वाचन समिति मनोनयन दर्तामा पूर्वाग्रही भएर लागेको भन्दै संयोजक प्राध्यापक डा. कृष्णप्रसाद न्यौपानेको राजीनामा मागेका छन्। 

त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा उम्मेदवारी दर्ता सकिएपछि नामावली प्रकाशित भएलगत्तै गत मंगलबार राति नेविसंघ, नयाँ शक्ति विद्यार्थी युनियन, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र ओरास्ववियु (क्रान्तिकारी) गरी चार विद्यार्थी संगठनले निर्वाचन समितिको कार्यकक्षमा तालाबन्दी गरेका छन्। 

केन्द्रीय क्याम्पस निर्वाचन समितिले मनोनयन दर्ताको सवालमा असंवैधानिक तरिका अपनाएको, पूर्वाग्राही बनेको र निष्पक्षता गुमाएको आरोप लगाउँदै त्यस्तो कार्यशैली बन्द गर्नुपर्ने विधार्थीको माग छ ‌।

नेपालकै पुरानो त्रिचन्द्र कलेजमा केही विवादबीच १६ वर्षपछि स्ववियु निर्वाचन हुने भएको छ। विद्यार्थी संगठनीहरूबिच विवाद उत्पन्न हुँदा २०६५ सालयता उक्त कलेजमा निर्वाचन हुन सकेको थिएन। 

 त्रिचन्द्रमा स्ववियु सभापतिका लागि नौ जना उम्मेदवार छन् । नेविसंघका श्रीधर श्रेष्ठ, विवेक बानियाँ र सागर न्यौपाने बागी उम्मेदवार हुन्। त्रिचन्द्रमा २१ संगठन चुनावी मैदानमा उत्रिएका छन्।

स्ववियुका लागि ९० कलेजमा सभापति सर्वसम्मत चुनिएको छ। तीमध्ये ४० क्याम्पसमा नेकपा एमालेनिकट अनेरास्ववियुबाट, माओवादी केन्द्रनिकट अनेरास्ववियु (क्रान्तिकारी) बाट २२ र नेपाली कांग्रेसनिकट नेविसंघका २८ जना सभापतिमा निर्विरोध निर्वाचित भएका छन्।

यसैगरी काठमाडौं उपत्यकाका त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुर, त्रिचन्द्र क्याम्पस, नेपाल ल क्याम्पस, शंकरदेव कलेज, थापाथली कलेज, आयुर्वेद कलेज, सरस्वती बहुमुखी कलेज, विश्वभाषा क्याम्पस र पब्लिक युथ कलेज छन्। उपत्यकाबाहिर जनकपुरको रामस्वरूप रामसागर बहुमुखी क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ कलेज, डिग्री क्याम्पस विराटनगर, महेन्द्र मोरङ कलेज, सिद्धबाबा कलेज, सुर्खेत बहुमुखी कलेज र बुटवल बहुमुखी कलेज छन्।

गत मंगलबार उम्मेदवारी दर्ता गर्ने समयमा निर्वाचन प्रक्रिया अवरुद्ध भएका कतिपय कलेजमा बुधबार निर्वाचन प्रक्रिया सुरु भएको थियो । कतिपयमा हुने तयारीमा छ ।  निर्वाचन प्रक्रिया अवरुद्ध भएका कलेजहरूमा सर्वपक्षीय समझदारी कायम गरेर पुनः तालिकीकरण गर्ने प्रयास जारी छ।  हालसम्म निर्वाचन प्रक्रिया अवरुद्ध भएको १६ आंगिक कलेजमा पुनः प्रक्रिया सुरु गराउने समझदारी भइरहेको छ ‌। ४६ आंगिक र सम्बन्धन प्राप्त गरी करिब साढे तीन सय कलेजमा प्रक्रिया सुरु भएको छ। ९० वटा कलेजमा सर्वसम्मत निर्वाचन सम्पन्न भएको छ ।

यस पटकको निर्वाचनमा स्ववियुका उम्मेदवारहरूले सामाजिक सञ्जालको भरपुर उपयोग गरिरहेका छन् ‌। मतदातासम्म पुग्ने भरपर्दो माध्यम फेसबुक, एक्स, टिकटकलाई बनाएका छन् ।  कम खर्चमा चुनाव जित्ने उत्कृष्ट माध्यम सामाजिक सञ्जाल बनेको छ।