काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले स्थिरता र सुशासनको प्रत्याभूति दिलाउन राज्य असफल भएपछि जनता निराश भएको टिप्पणी गरेकी छिन् । नयाँ वर्ष २०८२ का सन्दर्भमा राष्ट्रिय समाचार समितिमा प्रकाशित विचारमार्फत उनले अहिलेको राजनीतिक र प्रशासनिक अवस्थाप्रति गम्भीर असन्तुष्टि जनाएकी हुन् ।

‘मिहिनेत र प्रयासका बाबजुद पनि उद्देश्य र लक्ष्य प्राप्तिमा अपेक्षित सफलता हासिल हुन नसक्नु विडम्बना हो,’ उनले लेखेकी छिन्, ‘स्वदेशमै रोजगारीको अवसर नहुँदा लाखौँ युवाहरू आँसु झार्दै विदेशिन बाध्य छन् ।’ उनले यसो भनेर वर्तमान सरकारको गतिविधि माथि अनेकन् सवाल खडा गरेकी छन् ।

भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार तर्फ संकेत गर्दै स्थिरता र सुशासनको प्रत्याभूति नहुँदा व्यवसायी, सेवाग्राही र सर्वसाधारण सबै निराश बन्न पुगेको बताएकी छन् । उनको झटारोको क्रम यही रोकिएको छैन । पूर्वराष्ट्रपति भण्डारीले कर्मचारी प्रशासन जवाफदेही, कार्यमुखी र गतिशील नबन्दा नागरिकले अनावश्यक झमेला र दुःख सहनु परिरहेको औंल्याएकी छन् ।

सक्रिय राजनीतिमा पुनः फर्कने संकेत
राजनीतिक जीवनको प्रारम्भ विराटनगरबाट गरेकी भण्डारीले हालै यहाँ आउँदा सक्रिय राजनीतिमा पुनः फर्कने स्पष्ट संकेत दिइसकेकी छन् । । दुई कार्यकालसम्म राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी उनले पछिल्ला फोरमहरूमा समेत राजनीतिक सक्रियताको सम्भावना औंल्याउँदै आएकी छन् ।

उनले लेखेकी छन्, ‘देशमा देखिएको गत्यारोध अन्त्यका लागि एमाले नै अग्रसर हुनुपर्छ । जननेता मदन भण्डारीको विचार बोकेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले अब ठोस कार्ययोजना ल्याएर त्यसको कार्यान्वयनमा तदारुकता देखाउनु आवश्यक छ ।’

‘जनताको बहुदलीय जनवाद’को प्रभावकारी कार्यान्वयनको माग

पूर्वराष्ट्रपतिले जननेता मदन भण्डारीको ‘जनताको बहुदलीय जनवाद’लाई मुलुकको सामाजिक–आर्थिक रूपान्तरणको मौलिक सिद्धान्तका रूपमा चित्रित गरेकी छन् । उनले भनिन्, ‘हाम्रो देशमा यहीँ विकसित भएको मौलिक विचारको खाँचो थियो– जसले सामाजिक न्याय र समानतामा आधारित समुन्नत समाज बनाउने मार्गदर्शन गर्न सकोस् ।’

उनको भनाइमा, ‘देशले दिन सक्ने सबै अवसर हामीलाई दिइसकेको छ । अबको हाम्रो समय राष्ट्रकै नाममा समर्पित हुनुपर्छ । यस्तो दृढ अठोटबिना देश बदल्ने सपना पूरा हुन सक्दैन ।’ पूर्वराजा ज्ञानेन्द्रकै शैलीमा उनको धारणा छ — राष्ट्रहितभन्दा ठूलो केही हुँदैन र जनताको अनुहारमा मुस्कान ल्याउनुभन्दा ठूलो खुसी अर्को केही हुन सक्दैन ।