स्ववियू निर्वाचनमा नेविसंघको आधिकारिक्ता विवादमा उच्च अदालतले बुधबार बोलायो दुबै पक्षलाई छलफलमा
विराटनगर– महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को उम्मेदवारको आधिकारिक्ता विवादमा उच्च अदालत विराटनगरले किन अन्तरिम आदेश जारी नगर्ने विषयमा छलफलका लागि बुधबार दुबै समूहलाई उपस्थित हुन सोमबार आदेश जारी गरेको छ ।
निर्वाचन अधिकृत डा. शुशिल अधिकारीले नेविसंघको आधिकारिक उम्मेदवार संस्थापन पक्षका प्रज्वल विष्टको प्यानललाई बनाउँदै इत्तर समूहका सभापतिका उम्मेदवार योगराज दाहाललाई स्वतन्त्र सूचीमा राखेको विरोधमा दाहालले उच्च अदालत विराटनगरमा दायर गरेको रिटमा दुबैलाई छलफलमा आउन बुधबारको तारेख तोकेको हो ।
उच्च अदालत विराटनगरका न्यायाधिस नरेशकुमार चौधरीको एकल इजलासले नेविसंघका सभापतिका उम्मेदवारद्वय विष्ट र दाहालको उम्मेदवारीको सक्कल फायलसहित छलफलमा उपस्थित हुन निर्वाचन समितिलगायतको नाममा आदेश गरेका हुन् ।
आदेशमा रिट निवेदनमा के कसो भएको, निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने हो होइन, हुनुपर्ने भए सोको आधार, कानुनसहित बाटोको म्याद बाहेक १५ दिनभित्र आफै वा आफ्ना कानून बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्न समेत विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
दाहालले नेविसंघका सभापतिका उम्मेदवार प्रज्वल विष्ट प्यानल, क्याम्प्सको स्ववियू र निर्वाचन समितिविरुद्ध रिट निवेदन दायर गरेका थिए । निर्वाचन समितिले मंगलबार स्ववियू निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेर मतदान गराउन तयारी गरेको अवस्थामा छलफलका लागि मतदानको भोलीपल्ट उपस्थित हुन आदेश दिएको हो । तर शेखर कोइरालाले आफ्नो पक्षको दुबैमध्ये कुनैपनि उम्मेदवार नभएको पत्रकारहरुलाई बताएका छन् ।