विराटनगर— नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई मस्तिष्कघात भएको छ। शुक्रबार बिहान करिब ९ बजे स्वास्थ्यमा समस्या देखिएपछि उनलाई काठमाडौँको अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको हो।
अस्पतालका मेडिकल डाइरेक्टर डा. सुदन ढकालका अनुसार आलमलाई तत्काल आईसीयूमा राखेर उपचार थालिएको छ।
इँट्टाभट्टामा जीवित मान्छे जलाएको आरोपमा जन्मकैद सजाय भोगिरहेका आलमलाई केही दिनअघि मात्र उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले सफाइ दिएको थियो।
उक्त फैसलापछि उनी ललितपुरस्थित नख्खु कारागारबाट बुधबार साँझ रिहा भएका थिए।
रौतहटमा २०६४ सालमा भएको बम विस्फोटमा संलग्न रहेको अभियोगमा जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो। तर उक्त आदेश उल्ट्याउँदै उच्च अदालत जनकपुरले आलमलाई निर्दोष ठहर गरेको हो।
पारिवारिक स्रोतका अनुसार आलमको स्वास्थ्य अवस्था चिन्ताजनक नभएको र चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको छ।
#अफताब# आलम# मस्तिष्कघात