काठमाडौं – घरेलु काममा आकर्षक तलबको प्रलोभन देखाएर इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा प्रहरीले नुवाकोट तारकेश्वर–५ का ३४ वर्षीय हिरा तामाङलाई पक्राउ गरेको छ।

मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलबाट खटिएको प्रहरी टोलीले आइतबार उनलाई नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धान अनुसार, तामाङले विभिन्न व्यक्तिलाई घरेलु कामको राम्रो अवसरको आश्वासन दिएर दुबई हुँदै इराक पुर्‍याउने गरेको खुल्न आएको छ।

इराक पुगेपछि उनीहरूलाई विभिन्न घरमा श्रम शोषणका लागि पठाइने, चरम यातना दिइने र बन्धक बनाइने घटनाहरू फेला परेका छन् । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत, काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको छ।