काठमाडौँ — सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले काठमाडौंको माइतीघर–नयाँ बानेश्वर सडक खाली गराउन चार दिनको ‘अल्टिमेटम’ दिएको छ । शिक्षक आन्दोलनका कारण सडक बन्द हुँदा सार्वजनिक यातायात सेवा प्रभावित बनेको भन्दै महासंघले यस्तो चेतावनी दिएको हो ।
महासंघका महासचिव भरत नेपालले आउँदो बिहीबारसम्म सडकमा निर्बाध रूपमा सार्वजनिक यातायात सञ्चालन हुने वातावरण बनाउन माग गरेका छन्। उनले भने, ‘हामीले काठमाडौँका प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थियौं, तर अहिलेसम्म कुनै जवाफ आएको छैन । सडक अवरोध र यातायात व्यवसायीका अन्य समस्या पनि छन्।’
नेपालका अनुसार गत शुक्रबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई ज्ञापनपत्र बुझाइएको थियो । नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरका सामुदायिक विद्यालयका शिक्षक २७ दिनदेखि काठमाडौँमा आन्दोलनरत छन्। शिक्षक आन्दोलनका कारण माइतीघर–नयाँ बानेश्वर क्षेत्रको सार्वजनिक यातायात सेवा प्रभावित बनेको छ।