विराटनगर– कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले समस्याग्रस्त सहकारीको समस्या समाधानका नाममा १ करोड २८ लाख ६० हजार बजेट खर्चिने निर्णय गरेको छ ।
कोशी सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले बैठकको निर्णय सार्वजनिक गर्दै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका लागि १ करोड२८ लाख ६० हजार रकम बाँडफाड गर्न स्वीकृत प्रदान गर्नुका साथै समस्याग्रस्त सहकारी संस्था वा सङ्घ व्यवस्थापन समितिको सदस्य सचिवमा चन्द्रबहादुर कार्कीलाई तोक्ने निर्णय गरिएको बताएका छन् ।
बैठकले प्रदेशसभाको चालु छैठौँ अधिवेशन बिहीबार राति १२ बजेबाट अन्त गर्ने निर्णय गरेको छ। बैठकले बैठक अन्त्य गर्नका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो। उनका अनुसार बैठकले कोशी प्रदेश जनस्वास्थ्य नियमावली २०८१ समेत स्वीकृति गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको लागि अनुमानित सीमा १ अरब ५० करोड तथा राजस्व बाँडफाडको अनुमान सीमा १ अरब १० करोड स्वीकृत गर्ने समेत निर्णय गरेको छ।
बैठकले उच्च तथा जिल्ला अदालत सुदृढीकरण का लागि १ करोड ५० लाख बाँडफाड गर्न स्वीकृत प्रदान गरेको समेत मन्त्री भण्डारीले जानकारी दिए । राजनीतिक तथा प्रशासन समितिबाट परिमार्जित आर्थिक मामिला तथा योजना मन्त्रालय र मातहतका कार्यालयको संगठन संरचना तथा दरबन्दी तेरिज २०८१ पनि बैठकले स्वीकृत गरेको छ।