विराटनगर– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा लोपोन्मुख रेडपाण्डा फेला परेको छ । यसबाट स्थानीयवासी उत्साहित छन् ।  नगरपालिका टोलीले सोमबार बिहान उक्त दुर्लभ प्रजातिको रेडपाण्डा फेला पारेको हो।

नगरपालिकाले आगामी वैशाख १ मा आयोजना गर्ने 'रेडपाण्डा तथा थार महोत्सव' को प्रचारका लागि फोटो तथा भिडियो संकलन गर्न गएको टोलीले मेरुङ र कोप्चे सामुदायिक वनको सीमाना क्षेत्रमा २,७८१ मिटर उचाइमा  बिहान करिब नौ बजे  रेडपाण्डा भेट्टाएको हो।

मेरुङ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पलमसिं राईका अनुसार रेडपाण्डा खोजीका लागि विभिन्न समूह परिचालन गरिएको थियो। पहिलोपटक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङका प्रचण्ड राई ले रेडपाण्डा देखेका थिए, जसपछि टोलीले यसको फोटो तथा भिडियो खिच्यो।

मेरुङ सामुदायिक वनका रेडपाण्डा हेरालु पुष्पलाल गिरीका अनुसार फेला परेको रेडपाण्डा करिब अढाई वर्षको भाले हो। उनले सो क्षेत्रमा करिब पाँचवटा रेडपाण्डा हुन सक्ने अनुमान गरेका छन्। कोप्चे सामुदायिक वनमा पनि रेडपाण्डा पाइने भए तापनि यकिन सङ्ख्या थाहा नभएको अर्का रेडपाण्डा हेरालु दिनेश गिरीले बताए।

रेडपाण्डा खोजीमा वडाध्यक्ष मुगाधन राई (वडा नं १०), वडाध्यक्ष दानबहादुर राई (वडा नं १२), नगरपालिकाका लेखा अधिकृत राजकुमार राई, शुभम् फाउन्डेसनका निर्देशक सूर्यबहादुर राई लगायत २८ जना सहभागी थिए।

रेडपाण्डा जस्ता दुर्लभ वन्यजन्तुको संरक्षण स्थानीय वन समूह तथा सरकारी निकायको समन्वयमा गर्नुपर्ने विज्ञहरू बताउँछन्। यस खोजीले खोटाङमा जैविक विविधताको सम्भावनालाई थप उजागर गरेको छ।