पोखरा – पोखरा महानगरपालिकाका प्रशासकीय अधिकृत कपिल गिरी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार दिउँसो महानगरपालिकाको गेटनजिकैबाट उनलाई नियन्त्रणमा लिएको हो।
गिरीले महानगरपालिकाका अर्का कर्मचारीसँग अख्तियारमा परेको उजुरी मिलाइदिने भन्दै एक लाख रुपैयाँ घुस मागेका थिए। पहिलो किस्ताका रूपमा २५ हजार रुपैयाँ लिँदै गर्दा उनी पक्राउ परेका हुन्। गिरी उजुरी फर्छ्यौट शाखामा कार्यरत थिए। अख्तियारमा परेका उजुरीहरूको जवाफ दिने जिम्मेवारीमा रहेका उनले सोही हैसियतको दुरुपयोग गर्दै घुस मागेको आरोप छ।
गिरी अख्तियारको नियन्त्रणमा रहेका छन् र थप अनुसन्धान भइरहेको अख्तियार पोखरा कार्यालयका प्रमुख अस्मान तामाङले जानकारी दिएका छन्। यसअघि पनि पोखरा महानगरपालिकाका कर्मचारीहरू घुस प्रकरणमा पक्राउ परेका थिए। घर निर्माण सम्पन्न प्रमाणपत्र दिने क्रममा घुस लिएको आरोपमा घर नक्सा शाखाका इन्जिनियर शिवराज बराललाई अख्तियारले पक्राउ गरेको थियो।
पोखरा महानगरपालिकामा निरन्तर देखिएका यस्ता घटनाहरूले सार्वजनिक सेवा क्षेत्रमा पारदर्शिता र इमान्दारिताको आवश्यकता औंल्याउँछ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्ता क्रियाकलापमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गर्दै आएको छ, जसले भ्रष्टाचार नियन्त्रणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।