काठमाडौं–  सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ता (श्रमिक) का १८ वर्ष ननाघेका छोराछोरीलाई समेत औषधि उपचार सुविधा प्रदान गरिने भएको छ। सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिको पाँचौँ संशोधनसँगै अब योगदानकर्ताका सन्ततीले वार्षिक एक लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सुविधा पाउनेछन्।

कोषका प्रवक्ता कृष्ण अधिकारीका अनुसार यो योजना आगामी वैशाख १ देखि लागू हुनेछ।  उनको अनुसार यसअघि कोषले स्वयम् योगदानकर्ता र उनकी पत्नीलाई मात्र औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना प्रदान गर्दै आएको थियो। अब संशोधित कार्यविधिअनुसार १८ वर्षमुनिका छोराछोरीलाई पनि यो सुविधामा समावेश गरिएको छ।

उपचार सुविधाका सर्तहरू

औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना वा मातृत्व सुरक्षा योजना अन्तर्गत सेवा प्राप्त गर्नका लागि पछिल्ला ६ महिनाको योगदानमा कम्तीमा तीन महिना नियमित योगदान गरेको हुनुपर्नेछ। वार्षिक एक लाख रुपैयाँसम्मको उपचार खर्चमा २० प्रतिशत योगदानकर्ता स्वयंले व्यहोर्नुपर्नेछ भने बाँकी ८० प्रतिशत कोषले बेहोर्नेछ। योगदानकर्ताले लगातार तीन महिना योगदान गरेपछि मात्र यो सेवा लागू हुनेछ। अस्पतालमा भर्ना भइ उपचार गराउँदा योगदानकर्ता, उनकी पत्नी वा १८ वर्षमुनिका सन्ततीका लागि अधिकतम एक लाख रुपैयाँसम्मको सुविधा उपलब्ध हुनेछ।

घातक रोग उपचार योजना

घातक रोगको उपचारका लागि सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई मात्र सेवा प्रदान गर्नेछ। यस योजनाका लागि २८ महिनाको अवधिमा कम्तीमा २४ महिना नियमित योगदान गरेको हुनुपर्नेछ। योगदानकर्ताले आफ्नो सेवा अवधिभर १० लाख रुपैयाँसम्म घातक रोग उपचार सुविधा प्राप्त गर्न सक्नेछन्। कोषले कोरोनरी आर्टरी वाइपास सर्जरी, मस्तिष्कघात, मृगौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया, हेमोफिलिया वा थालासेमियालाई घातक रोगका रूपमा परिभाषित गरेको छ।

पेन्सन प्राप्तकर्ताका लागि विशेष सुविधा

सामाजिक सुरक्षा कोषको वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत पेन्सन सुविधा प्राप्त गरिरहेका योगदानकर्ताहरूले पनि सात वर्षसम्म औषधि उपचार सुविधा पाउनेछन्। पेन्सन सुविधा प्राप्त गर्नका लागि योगदानकर्ताले कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्छ र ६० वर्ष उमेर पुगेको हुनुपर्छ। यदि योगदानकर्ताले चाहेमा, पेन्सन रकमको एक प्रतिशत मासिक योगदान गरी आजीवन औषधि उपचार सुविधा प्राप्त गर्न सक्नेछन्।

उच्च मूल्यको उपचारमा विशेष व्यवस्था

६० महिना (पाँच वर्ष) नियमित योगदान गरिसकेका योगदानकर्ताका लागि उनको पत्नी वा स्वयंको मातृत्व तथा स्वास्थ्य सुरक्षासम्बन्धी उपचार खर्च १० लाख रुपैयाँसम्म पुग्न सक्नेछ। घातक रोग उपचार योजना अन्तर्गत अनलाइन प्रणालीमा आबद्ध अस्पतालमा भर्ना भई उपचार गराउँदा १० लाख रुपैयाँसम्मको खर्चमा ५० प्रतिशत कोषले व्यहोर्नेछ। सामाजिक सुरक्षा कोषको यो नयाँ व्यवस्थाले श्रमिकहरूका परिवारका सदस्यहरूलाई थप सुरक्षा प्रदान गर्ने विश्वास गरिएको छ।