विराटनगर– नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले मुलुकमा विकसित राजनीतिक घटना क्रमले उत्पन्न समस्या समाधानका लागि अवको विकल्प राष्ट्रिय सहमतिको सरकार भएको बताएका छन् ।
विराटनगरमा प्रेस यूनियन मोरङले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जनताको निराशालाई आशामा परिणत गर्न अब चाँडै राष्ट्रिय सहमतिको सरकार बन्ने बताएका हुन् । ‘मुलुकमा अहिले गणतान्त्रिक मोर्चा बनाउने नाममा अराजकता फैलाउने षडयन्त्र भइरहेको छ,’ उनले भने, ‘राष्ट्रिय सहमतिको सरकार बन्न राजनीतिक नेतृत्वहरुले मार्ग प्रसस्त नगरे देशमा राजा आउने वातावरण बन्दै जान्छ ।’
देशमा राजनीतिक नेतृत्व वर्गले जनभावना अनुसार काम गर्न नसकेकोले जनता निरास बनेको केसीको भनाइ थियो । उनले जनताको निरासा र आक्रोशलाई समयमा आशामा परिणत गर्न नसकिए देशमा अराजकता फैलिँदै जाने र यसले देशलाई पश्चगमनतर्फ लग्ने खतरा रहेको बताए ।