विराटनगर– – ‘नो केबलकार समूह’ले यसअघि गठन गरेको वार्ता समन्वय समितिलाई विस्तार गर्दै उच्चस्तरीय वार्ता समिति गठन गरेको छ। उक्त समितिको संयोजकमा खगेन्द्र फेम्बु लिम्बू चयन भएका छन्।
पाँच सदस्यीय वार्ता समितिमा श्रीप्रसाद लिंखिम, सरस्वता (सरु) सिंगक, धनराज लिम्बू र सन्तोष मेहता रहेका छन्। फेम्बु ‘केबलकार खारेजी संयुक्त संघर्ष समिति’का संयोजक हुन् भने लिंखिम ‘मुक्कुम्लुङ संघर्ष समिति’का संयोजक हुन्।
यसअघि सरकारद्वारा गठित वार्ता समितिले उनीहरूलाई औपचारिक रूपमा वार्तामा बोलाउने तयारी गरिसकेको थियो। सिंगक ‘मुक्कुम्लुङ ताङसेप चुम्भो’का प्रतिनिधि हुन्, भने धनराज लिम्बू र सन्तोष मेहता विभिन्न राजनीतिक दलका तर्फबाट वार्ता समितिमा सहभागी भएका छन्। सिंगक यसअघि ‘वार्ता समन्वय समिति’को संयोजक थिइन्।
गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र मुक्कुम्लुङ ताङसेप तथा अन्तरदलीय राजनीतिक दलहरूको वार्ता सहजीकरण टोलीबीच चैत ४ को छलफलमा उच्चस्तरीय वार्ता समिति गठन गर्ने सहमति जुटेको थियो। उक्त सहमतिअनुसार नै नयाँ समिति गठन गरिएको आन्दोलनरत समूहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा १३ वटा संघसंस्था र ११ राजनीतिक दलका हस्ताक्षर रहेका छन्।
आन्दोलनरत समूहले केबलकार निर्माण खारेज गर्नुपर्ने प्रमुख माग अघि सारेका छन्। तर, गृह मन्त्रालयद्वारा गठित प्रेमप्रसाद भट्टराई संयोजकत्वको सरकारी वार्ता समितिले उक्त माग पूरा गर्न असमर्थता जनाएपछि उच्चस्तरीय वार्ता समिति गठन गर्न सहमति भएको वार्तामा सहभागीहरूले बताएका छन्।