विराटनगर । नेपाल क्रिकेट फाउण्डेसनले ‘क्रिकेट फर इक्वालिटी’ परियोजनाअन्तर्गत कोशी र मधेस प्रदेशमा क्रिकेट खेल सामग्री वितरण गरेको छ । परियोजनाअन्तर्गत मधेश प्रदेशको सिरहा र कोशी प्रदेशको उदयपुर र सुनसरी जिल्लामा कार्यक्रम औपचारिक कार्यक्रम आयोजना गरी क्रिकेट खेल सामग्री वितरण गरेको हो ।
फाउण्डेशनले क्रिकेट ब्याट, हेल्मेट, प्याड, ग्लोभ्स, लेदर बल, टेनिस बल, स्टम्प, कोन्स तथा किट ब्यागहरू विरतण गरेको छ । सिरहामा मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठ, सचिव आयुष श्रेष्ठ तथा सिरहा जिल्ला क्रिकेट संघका सचिव बिकल बिष्टको उपस्थितिमा नेपाल क्रिकेट फाउण्डेसनका संस्थापक अभिषेक श्रेष्ठले क्रिकेट खेल सामग्री हस्तान्तरण गरेका छन् ।
सुनसरीमा कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्बजीतराज पाण्डे, सुनसरी जिल्ला क्रिकेट संघका उपाध्यक्ष सञ्जीव ढुंगाना तथा सचिव गोबिन्दप्रसाद पौडेलको उपस्थितिमा र उदयपुरमा जिल्ला क्रिकेट संघका अध्यक्षअ लविन बस्नेतको उपस्थितिमा क्रिकेट खेल सामग्री फाउण्डेशनले हस्तान्तरण गरेको हो ।
यस परियोजनाको उद्देश्य दुबै प्रदेशमा क्रिकेटको पहुँच र समानता सुनिश्चित गर्नु रहेको फाउण्डेसनका संस्थापक श्रेष्ठले बताएका हुन् । परियोजनाले विद्यालय, ग्रामिण क्षेत्र र पिछडिएको समुदायमा खेलको पहुँच विस्तार गर्दै युवा प्रतिभालाई पहिचान गर्न केन्द्रित रहेको उनले बताएका छन् ।
फाउण्डेसनका श्रेष्ठ र कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष पाण्डेले क्रिकेट खेल मात्र नभई सामाजिक रूपान्तरणको साधनसमेत रहेको बताएका हुन् । आधारभूत संरचनालाई मजबुत पार्दै, समाजका सबै तहका युवालाई समान अवसर दिने अभियानमा फाउण्डेसनले काम गर्दै आएको श्रेष्ठको भनाइ छ ।
कोशी र मधेश प्रदेशमा खेलको पहुँच बढाउनु हाम्रो साझा जिम्मेवारी रहेको उनले बताए । यो अभियान आगामी दिनमा अन्य प्रदेश र जिल्ला क्रिकेट संघसँगको सहकार्यमा विस्तार गर्ने श्रेष्ठले बताए । यसले खेलमा सहभागिता मात्र नभई सामाजिक समावेशिता र नेतृत्व क्षमतामा पनि सकारात्मक परिवर्तन आउने उनको विश्वास छ ।