विराटनगर– नेपालको राजनीतिक इतिहासमा भाग्यले साथ दिएको नेता भनेर चिनिने एक नाम— शेरबहादुर देउवा । पाँच पटक प्रधानमन्त्री । तीन दशकभन्दा बढी शासन सत्ताको केन्द्र । र हरेकपटक—असम्भव देखिएको क्षणमा—सत्तामा पुनरागमन । तर इतिहास अत्यन्तै क्रुर हुन्छ । ७९ वर्षको उमेरमा छैटौं पटक प्रधानमन्त्री बन्ने अन्तिम महत्वाकांक्षा बोकेका देउवा जीवनको उतरार्धमा आएर आफ्नै राजनीतिक यात्राको सबैभन्दा कठिन मोडमा पुगे ।
देउवाको शक्ति केवल सिंहदरबारमा सीमित थिएन । लगातार दुई कार्यकाल नेपाली कांग्रेसको सभापति । नेपाल विद्यार्थी संघदेखि केन्द्रीय नेतृत्वसम्म उनको पकड मजबुत रह्यो । त्यसैले उनी कहलाए— नेपालको सबैभन्दा भाग्यमानी नेता । तर भाग्यमानी देउवाका लागि २०८२ साल अभागी साबित भयो । यो वर्ष यदि जेन्जी आन्दोलन नउठेको भए । यदि कांग्रेस–एमाले सत्तागठबन्धन सडकबाट अपदस्थ नभएको भए । छैटौं पटक प्रधानमन्त्री बनेर देउवा नेपालको इतिहासमा सबैभन्दा धेरैपटक प्रधानमन्त्री बनेको रेकर्ड राख्थे । तर भाग्यले कहाँ सधैँ साथ दिन्छ र । भनिन्छ– भविष्य कर्मले निर्धारण गर्छ ।
कहिल्यै चुनाव नहारी प्रधानमन्त्री बनेका देउवा आज राजनीतिमा समयसँग हार्दै छन् । भाग्य अब कर्मले निर्धारण गर्दै छ । नेपालको राजनीति नयाँ अनुहार खोज्दै छ । नयाँ भाषा । नयाँ नेतृत्व । र यही परिवर्तनको लहरमा
शेरबहादुर देउवा इतिहासको एक अध्याय बन्दै छन् । शेरबहादुर देउवा सफलताका प्रतीक । भाग्यका पर्याय । तर राजनीतिमा अन्तिम निर्णय सधैं जनताले गर्छन् । र २०८२ सालले देउवालाई सम्झाइदियो— सफल इतिहास भाग्यले होइन, कर्मले लेखिन्छ । जस्तो कर्म, उस्तै फल ।
भाग्य होस् त देउवाको जस्तो– नेपालको राजनीतिक वृत्तमा शेरबहादुर देउवाका सन्दर्भमा केही महिना अघिसम्म पनि यस्ता भनाइ सुन्ने गरिन्थ्यो । उनलाई भाग्यमानी नेताका रूपमा चित्रित गर्थे । हुन पनि, मुलुकको सर्वोच्च कार्यकारी पदमा पाँच पटक आसिन भइसकेका देउवा ७९ वर्षको उमेरमा छैटौं पटक प्रधानमन्त्री बन्ने दाउमा थिए । तर त्यसमा २०८२ सालको जेन्ज विद्रोह र पार्टीभित्र महाधिवेशन प्रतिनिधिहरुको विद्रोहले देउवालाई नेपालमा सबैभन्दा धेरैपटक प्रधानमन्त्री बनेको इतिहास रच्न अहिलेलाई रोक्न सफल देखिएको छ ।
स्वास्थ्यको कारण देखाएर पूर्णबहादुर खड्कालाई पार्टीको कार्यबाहक सभापति सुम्पिदै सक्रिय राजनीतिक जीवनबाट बिदा लिएका देउवा सिंगापुरमा उपचार गराएर फर्किपछि पुनः राजनीतिक सक्रियता बढाए । उनले जेन्जी आन्दोलनले उठाएको प्रमुख माग नेतृत्व परिवर्तनलाई केटाकेटीको खेल सम्झेर वेवास्ता गरे । पार्टीभित्रै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर माग गरेको विशेष महाधिवेशन दवाउने निर्णयमा पुगे । फलस्वरुप जेन्जी आन्दोलनले छैठौँ पटक प्रधानमन्त्री बन्ने सपना चकनाचुर गरिदियो भने महाधिवेशन प्रतिनिधिको विद्रोहले त देउवाको राजनीतिक जीवन नै कलंकित बनाइदियो । हुनत राजनीतिमा असम्भव केही हुँदैन । उनकै जीवन हेर्दा पनि असम्भव लाग्ने अवस्थाबाट अनेकपटक देउवाले राजनीतिको केन्द्रमा पुनरागमन गरेका छन् । अर्थात्, देउवाको सिंगो राजनीतिक जीवन अनेक घुम्ती र मोडहरूबाट गुज्रिएको देखिन्छ ।
पहिलो घुम्ती : नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको दुई कार्यकाल सभापति
२००३ जेठ १७ गते डडेल्धुरा जिल्लास्थित रुवाखोलाको एक सम्पन्न परिवारमा शेरबहादुर देउवाको जन्म भयो । डोटी राज्यकालमा चर्चित बनेका कुसलसिंह देउवा रजवारका पनाति प्रसादसिंह देउवा रजवार । प्रशादसिंह देउवाका दुई श्रीमती डडेल्धुरा गणेशपुर मैरोड़ाका मल्लकुलकी धनादेबी मल्ल देउवा र डोटी बोगटानका बम कुलकी द्रोपती बम देउवाबाट ३–३ छोराहरू गरेर ६ छोरा । शेरबहादुर देउवा, लोकबहादुर देउवा, गणेशबहादुर देउवा, प्रेमबहादुर देउवा, ललितबहादुर देउवा र बलबहादुर देउवा । यी ६ भाइ मध्ये बुवा प्रसाद सिंह र आमा द्रोपतिका जेष्ठ पुत्र शेरबहादुर देउवा राजनीतिमा सफल व्यक्तित्व बन्न पुगे । आरजु राणासँग विवाह बन्धनमा बाँधिएका शेरबहादुर देउवाका एक पुत्र जयबिर देउवा छन् । उनका स्वकीय सचिव भानप्रसाद देउवा अर्थात् भानु देउवा उनका माईला भाइ लोकबहादुर देउवाका पुत्र हुन् ।
अध्ययनका क्रममा काठमाडौं आएका देउवाले वीपी कोइरालाबाट प्रेरित भएर विद्यार्थी राजनीतिबाट २०१७ सालमा नेपालको राजनीतिमा पाइला टेके । उनी २५ वर्षको उमेरमा नै नेपाली कांग्रेसको नर्सरी भनिने नेपाल विद्यार्थी संघको पहिलो निर्वाचित सभापति २०२८ सालमा बने । उनले निरन्तर नेवीसंघको दुई कार्यकाल नेतृत्व गरे । उनले निर्वाह गरेको भूमिकाले राजनीतिमा अत्यन्तै राम्रो स्थान बनाउन सफल बने । तर राजपरिवारसँग नजिकिएको आरोप लागेपछि उनलाई पार्टीले कारवाही गर्नुको साटो संसदीय मामिला अध्ययनका लागि बेलायत पठाइदिए ।
दोस्रो घुम्ति : प्रतिनिधिसभाको यात्रा
२०४६ सालको राजनीतिक परिवर्तनपछि प्रजातन्त्र पुनर्वहाली भयो । त्यसपछि २०४८ सालमा सम्पन्न आम चुनावमा डडेल्धुराबाट पहिलो पटक प्रतिनिधित्व गर्दै प्रतिनिधिसभाको यात्रा सुरु गरे । त्यसपछिका निर्वाचनहरु २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ सालसम्म संविधानसभा र प्रतिनिधिसभा सदस्यमा निरन्तर निर्वाचित भइरहे ।
२०४८ को निर्वाचनमा कांग्रेसले बहुमत ल्याएर सरकार बनाए । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने र शेरबहादुर देउवा शक्तिशाली गृह मन्त्रालय सम्हाल्ने अबसर प्राप्त गरे । यसरी नै उनको संसदीय र शासन सत्ताको अबिराम यात्रा सुरु भयो ।
तेस्रो घुम्ति : प्रधानमन्त्रीको यात्रा
२०४८ सालमा स्पष्ट बहुमत ल्याए पनि नेपाली कांग्रेसभित्रको अन्तरकलहले प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले २०५१ सालमा संसद विघटन गरी मध्यावधी निर्वाचनको घोषणा गर्यो । त्यही निर्वाचनले देउवाको भाग्योदय भयो । पार्टीभित्रको अन्तरकलहले नेपाली कांग्रेसले पराजय व्यहोर्यो र सबभन्दा ठूलो दल बनेको नेकपा एमालेको नेतृत्वमा अल्पमतको सरकार बन्यो ।
नेपाली कांग्रेस प्रमुख प्रतिपक्षीको कित्तामा पुग्यो । संसदीय दलको नेतामा देउवासँगै रामचन्द्र पौडेल, खुम्बहादुर खडकालगायतका आधा दर्जन सांसदहरुले उम्मेदवारी दिए । तर शीर्षस्थ नेतात्रय गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले सर्वसम्मत नेता चयन गर्ने भन्दै सबैलाई उम्मेदवारी फिर्ता लिन दवाव दिए । अन्य सांसदहरुले फिर्ता लिए पनि देउवाले उम्मेदवारी फिर्ता नलिने दृढता देखाए । अन्ततः उनी नै नेपाली कांग्रेस संसदीय दलको नेतामा पहिलो पटक निर्वाचित भए । नेकपा एमालेको सरकारले संसदमा बहुमत सिद्ध गर्न सकेन । प्रधानमन्त्री मनमोहन अधिकारीले गिरिजाप्रसाद कोइरालाकै बाटो पछ्याउँदै संसद विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरे । तर सर्वोच्च अदालतले संसद विघटनको निर्णयलाई बदर गरी संसद पुनर्वहाली गरिदियो ।
त्यसपछि संसदभित्र नयाँ सरकार गठनको कसरत सुरु भयो । नभन्दै राप्रपा लगायतका दलको सहयोगमा नेता देउवा ४९ वर्षकै उमेरमा पहिलो पटक प्रधानमन्त्री बन्न सफल भए । त्यसयता प्रधानमन्त्रीको कुर्सिले निरन्तर उनलाई पछयाई रहयो । २०५८, २०६१, २०७४ र २०७८ सालमा पनि उनी प्रधानमन्त्री बने । संख्याको हिसाबले ५ पटक प्रधानमन्त्रीको कुर्सिमा आसिन भएको देउवा क्षमतावान सिद्ध भएनन् । जनतालाई आधारभूत अधिकारबाट बञ्चित गरेको निरंकुश पञ्चायत विरुद्ध संघर्ष गरेर आएका देउवाले आफू कार्यकारी भएको बेला भने जनअधिकारलाई मजबुत गर्न सकेनन् । जनतालाई सुशासन र पारदर्शिता दिन सकेनन् । लगातार शासन सत्ताको केन्द्रमा रहेर पनि देउवा जनअपेक्षा अनुसार काम गर्न नसक्दा उनको अलोकप्रियता बढ्दै गयो ।
त्यसो त प्रधामन्त्री रहेको बेला देउवालाई २०५९ असोज १८ गते राजा ज्ञानेन्द्रले अपदस्थ गरे । जनप्रतिनिधिमुलक संस्था संसद विघटन गरेर प्रजातन्त्र दरबारमा बुझाएका देउवा सडकमा फालिदा पनि राजासँगको अपेक्षा छाडेनन् । आफूले असक्षम भनेर हटाएका देउवालाई अन्ततः २०६१ सालमा भने ज्ञानेन्द्रले फेरी प्रधानमन्त्री बनाए । प्रतिगमन आधा सच्चियो भनेर सरकारमा सहभागी भएका एमालेसँग सत्ता साझेदार गर्दै देउवा राजाबाट टिके प्रधानमन्त्री बन्न पुगे । त्यति बेला उनले भनेका थिए–गोर्खाका राजाबाट न्याय पाए । तर सात महिना नपुग्दै देउवा तिनै राजाबाट बर्खास्तीमा परे । त्यति मात्रै होइन । राजाले शाही आयोग बनाएर देउवालाई भ्रष्टाचार आरोपमा जेल पनि हाले ।
चौथो घुम्ती : पार्टीबाट निस्काशन हुनुपरेको अवस्था
प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक पटक गरी ९ वर्ष जेल बसेका देउवाले २०५९ सालमा जनप्रतिनिधिमूलक थलो संसद विघटन गरेर प्रजातन्त्र दरबारमा बुझाए । नेकपा माओवादीको नेतृत्वमा जारी सशस्त्र द्वन्द्व चर्किदै जाँदा संकटकाल लगाउने विषयले नेपाली कांग्रेसभित्र विभाजनको रेखा कोरियो । प्रधानमन्त्री रहेका देउवा संकटकाल लगाएर अघि बढ्न चाहन्थे तर पार्टी सभापति गिरिजा प्रसाद कोइराला माओवादीसँग सम्पर्कमा रहेर वार्तामा ल्याउन खोजिरहेकोले संकटकालको विरोधमा थिए । पार्टीको निर्णय विपरित देउवाले संकटकाल लगाउने निर्णय लिएपछि कांग्रेसले उनलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्काशनको कारवाही गर्यो । दलको नेता जितेर देउवा प्रधानमन्त्री बने पनि पार्टीमा गिरिजाप्रसाद कोइरालाकै पक्षमा बहुमत थियो ।
पार्टीबाट निस्काशित भएपछि आक्रोशित देउवाले कांग्रेस पार्टी फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरे । परिणाम– पार्टी फुटाएको ५ वर्ष राष्ट्रिय राजनीतिको भूमिकामा देउवा कहीँ देखा पर्न सकेनन् । यो समय देउवा भूमिका विहिन बन्न पुगे । तत्कालिन सात दल र माओवादीबिचको १२ बुंदे विस्तृत शान्ति सम्झौता, १९ दिने दोस्रो जनआन्दोलनमा देउवा कहीँ कुनै भूमिकामा देखिएनन् । उनी किनाराका साक्षी मात्रै बन्न पुगे । २०६४ को पहिलो संविधानसभा अगाडि देउवाले नेपाली कांग्रेससँग पार्टी एकीकरण गरेर बिस्तारै राष्ट्रिय राजनीतिमा पुनरागमन गर्यो ।
पाँचौँ घुम्ति : दुई कार्यकाल पार्टी सभापति
देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेस मूल पार्टी नेपाली कांग्रेसमा एकीकरण भएपछि २०६४ साल जेठ ७ गते ललितपुरमा आयोजित एकता महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला सभापति र देउवा बरिष्ठ नेता भए । १२ औँ महाधिवेशनमा शुशिल कोइरालासँग सभापतिमा प्रतिस्पर्धा गरेका देउवा पराजित भएर पार्टीमा ६०–४० प्रतिशत भागबण्डाको राजनीति स्थापित गर्न पुगे । त्यसपछि २०७२ फाल्गुनमा काठमाडौँमा भएको पार्टीको १३ औँ महाधिवेशनमा रामचन्द्र पौडेललाई पराजित गरी पार्टीको सर्वोच्च पद सभापति बन्न देउवा सफल भए । र २०७८ सालको मंसिरमा भएको १४ औँ महाधिवेशनमा शेखर कोइरालालाई पराजित गरेर लगातार दुई कार्यकाल देउवा पार्टी सभापतिको भूमिकामा रहे ।
छैठौँ घुम्ती : कम्युनिष्टसँग सत्ता सहकार्य
शक्तिका लागि सधैँ सत्ता राजनीतिको केन्द्रमा रहन रुचाउने देउवाले २०७९ को आम निर्वाचनमा माओवादी केन्द्रलगायतका दलसँग गठबन्धन गरेर चुनावी प्रतिस्पर्धा गरेका थिए । निर्वाचन परिणाम आएपछि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले पूर्वसहमति अनुसार देउवाले आफूलाई प्रधानमन्त्री नदिएको भन्दै कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सत्ता सहकार्य गरी प्रधानमन्त्री बने । तर माओवादी केन्द्र र नेकपा एमालेबिचको गठबन्धन लामो समयसम्म टिक्न सकेनन् । राष्ट्रपति निर्वाचनमा सतहमा आएको विवादले माओवादी एमालेसँगको सहकार्य टुटाएर पुनः कांग्रेसको शरणमा फर्किए । तर त्यो सत्ता सहकार्य पनि लामो समय टिक्न सकेनन् । माओवादी अध्यक्ष दाहाल पुनः २०८० फाल्गुनमा एमालेतिरै फर्केर प्रधानमन्त्रीको कुर्सिमा टिकिरहे । चार महिनापछि २०८१ मा देउवाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सत्ता सहकार्यका लागि छलफल अघि बढाए । २०८१ साल असार १७ गते सात बुंदे सहमति गरेर ओलीलाई प्रधानमन्त्री बनाए र सत्तासाझेदार बन्ने दुरभाग्यपूर्ण निर्णय गर्न पुगे । एमाले अध्यक्ष ओलीसँगको यो सत्ता साझेदारी सभापति देउवाको राजनीतिक जीवनमा अर्को ठूलो त्रुटी साबित हुन पुग्यो । सात बुंदे सहमति अनुसार ओलीले सरकारको नेतृत्व गरे २०८३ असार १७ पछि यो नेतृत्व कांग्रेस सभापति देउवाको हातमा आउने थियो । प्रधानमन्त्री कुर्सीको प्रतिक्षाको कारण नेपाली कांग्रेस ओली सरकारको हरेक कुकृत्यको साक्षी बनिरहे । र जेन्जी युवाले भदौ २३ र २४ गते गरेको आन्दोलनले देउवाको छैठौँ पटक प्रधानमन्त्री बन्ने सपना चकनाचुर भयो ।
सातौँ घुम्ती : जेन्जी आन्दोलन
सात बुंदे सहमति अनुसार कांग्रेस–एमाले सहमतिको सरकार अघि बढ्न सकेनन् । सरकार गठनको झण्डै १५ महिने कार्यकाल पूरा हुँदा सम्म न त संविधान संशोधनको कुनै प्रक्रिया अघि बढ्यो न त सुशासन नै कायम गर्न सक्यो । दशकदेखि संस्थागत भएको भ्रष्टाचार, अपारदर्शिता, बेथिति, बेरोजगारीतर्फ सरकारको ध्यान पुगेन । नभन्दै निरास, आक्रोशित र बेरोजगार बनेका जेन्जी युवा भ्रष्टाचार, अपारर्दिता, बेरोजगारी र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध बिरुद्ध भदौ २३ गते शान्तिपूर्ण सडक आन्दोलनमा उत्रे । तर आन्दोलनको बारेमा सरकारले गरेको पूर्वानुमान गलत साबित भयो र सत्ता जोगाउन ओली सरकारले अत्यधिक बल प्रयोग गरेका कारण १९ जना युवाको गोली लागि देहान्त भयो । शान्तिपूर्ण आन्दोलनमा युवाहरुको गोली लागि देहान्त भएपछि २४ गते बिहानै देखि आन्दोलन हिंसात्मक बन्न पुग्यो । त्यही हिंसात्मक आन्दोलनले देशभरिका प्रशासनिक धरोहारहरु जल्यो । त्यो आगो देउवा निवाससम्म पुग्यो । बिहानैदेखि आन्दोलनकारीले बुढानिलकण्ठस्थित निवास घेराउ मात्रै गरेनन् आगजनी गर्दै देउवा र तत्कालिन परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि आक्रमण गरे । सुरक्षाकर्मीको घण्टौको प्रयासपछि उनीहरुलाई उद्धार गर्न सफल भयो । त्यसपछि लामो समय देउवा दम्पति अस्पतालमा बिताए । अस्पतालको लामो बसाईपछि असोज २८ गते देउवा दम्पति पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा भाग लिएर सार्वजनिक भए । त्यही कार्यसमिति बैठकमा लिखित मन्तव्य पढेर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पे र तत्कालका लागि सक्रीय राजनीतिबाट सन्यास लिएको घोषणा गरेर आमनागरिकको सहानुभूति बटुल्न सफल भए । युवा अवस्थादेखि जनताको अधिकार प्राप्तिको आन्दोलन गरेर राजनीतिमा उदाएका देउवाले जनअपेक्षा अनुसार परिवर्तन ल्याउन नसकेको कारण जीवनको उत्तरार्धमा जनता सामु घुँडा टेक्न बाध्य भए । र पार्टी र सत्ताको केन्द्रबाट बाहिरिएको घोषणा गर्दै थप उपचारका लागि सिंगापुर प्रस्थान गरे ।
आठौँ घुम्ति : महाधिवेशन प्रतिनिधिको विद्रोह
तर सिंगापुरको शक्ति प्राप्त गरेर फर्केका देउवा पुनः निवासबाटै पार्टी राजनीतिमा सक्रीयता देखाए । कार्यवाहक सभापति पूर्णबहादुर खडकालाई केन्द्रीय कार्यसमितिको अध्यक्षतामा सिमित राखेर देउवा आफै अन्तर दलीय बैठकदेखि राष्ट्रपति र प्रधानमन्त्रीसँगको छलफलमा सक्रीय देखिए । त्यति मात्रै होइन पुनः सत्तामा पुग्ने लोभले अन्तिम पटक प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवार बन्न डडेलधुराबाट एकल नाम सिफारिस गराए ।
जेन्जी आन्दोलनको मर्म अनुसार पार्टीभित्र उठेको नेतृत्व परिवर्तनको मागलाई देउवाले वेवास्ता गरे र त्यही वेवास्ता देउवाको राजनीतिक जीवनको अन्तिम भूल बन्न पुग्यो । मंसिरमा पार्टीको नियमित महाधिवेशन नगरी कार्यकाल लम्ब्याउने रणनीतिमा देउवा अघि बढेपछि नेतृत्व परिवर्तन पक्षधरहरुले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर गराएर विशेष महाधिवेशनको माग गर्दै निवेदन पार्टी कार्यालयमा दर्ता गराए । त्यो मागलाई निस्तेज पार्ने कपटपूर्ण राजनीति देउवाले निवासबाटै सुरु गरे । सिंगापुरबाट फर्किएर निवासबाटै विशेष महाधिवेशनको मागलाई पाखा लगाउन नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने सर्वसम्मत निर्णय गराइदिए । तर पार्टीभित्र युवाहरुले उठाएको नेतृत्व परिवर्तनको माग लत्याएर मंसिर १५ गतेको बैठकले ६ महिना कार्यकाल लम्ब्याउने निर्णय गराए । त्यति मात्रै होइन विधानतः माग गरिएको विशेष महाधिवेशनको औचित्य समाप्तिको घोषणा समेत गरे । देउवाको यो कुटिल राजनीतिक अस्त्र आफैतिर मोडिन पुग्यो । नियमित महाधिवेशनलाई वैसाखमा पुर्याएपछि विशेष महाधिवेशन पक्षधरको नेतृत्व गर्दै आएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आयोजना गर्ने साहासिक घोषणा गरेर तयारीमा जुटे । तर देउवालगायत ६ भाई र संस्थापन इत्तर भन्दै आएका शेखर कोइरालाले विशेष महाधिवेशन असफल गराउन महाधिवेशन प्रतिनिधिहरुलाई रोक्ने असफल प्रयासमा लागे ।
अन्ततः ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरबाट विधानतः सुरु भएको विशेष महाधिवेशन प्रक्रिया ५८ प्रतिशत पुगेर औपचारिक रुपमा विशेष महाधिवेशन सुरु भयो । जेन्जी आन्दोलनपछि देशमा कांग्रेसका दुई जुझारु नेता गगन थापा र विश्वप्रकाश नेता अवल साबित हुँदै जनताको नजरमा देशको परिवर्तनका संवाहक बन्दै छन् । यो विशेष महाधिवेशनको प्रमुख माग पार्टीको नेतृत्व परिवर्तन नै हो । त्यसैले अब देउवालाई सदाका लागि पार्टी र सत्ता राजनीतिबाट घोक¥याएर बाहिर निकाल्ने निर्णय महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनबाट गर्दै छन् ।
यो विशेष महाधिवेशन शेरबहादुर देउवाको राजनीतिक यात्राको अन्तिम अध्याय हुन्छ कि अझै एकपटक पार्टीमा आधिकारिकता विवाद निम्तियाउँदै विभाजनको जोखिम उठाएर पुनःसत्ता राजनीतिमा पुनरागमन गर्छन् । त्यो देश र जनताले हेर्न बाँकी छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत पार्टी फुटाउन लागेको संस्थापन पक्षलगायतले प्रोपगण्डा फैलाए । तर अहिले त्यो प्रश्न उल्टिएको छ । के देउवा स्वयं पार्टी जोगाउने विशेष महाधिवेशन स्विकार गरेर अघि बढ्छन् कि अस्वीकार गर्दै फेरि एकपटक कांग्रेसलाई विभाजनको डिलमा पु¥याउँछन् ? यो देउवाको राजनीतिक जीवनको नवौँ घुम्ती पार्टी, देश र जनताले हेर्न बाँकी छ । यो सँगै नेपाली कांग्रेसलाई सगलो राखेर देश र जनताको मर्म र भावना अनुसार गगन थापा र विश्वप्रकाश शर्माले पार्टी हाँक्न सक्छन् कि सक्दैन भन्ने परीक्षा पनि सुरु हुँदै छ । यसको परिणाम समयले देखाउने छ ।