जनकपुरधाम-  मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीमा मापदण्ड र अनुमतिपत्र विना सञ्चालनमा रहेका १९ अस्पताललाई तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।

लालबन्दी नगरपालिकाको लालबन्दीचोक र नवलपुरचोक क्षेत्रमा रहेका २३ स्वास्थ्य संस्थाको अनुगमन गर्दा १९ वटा अस्पताल मापदण्डविपरीत र बिना अनुमतिपत्र सञ्चालनमा रहेको पाइएको थियो। यसपछि मुख्यमन्त्री सिंहले ती अस्पतालहरूलाई तुरुन्तै बन्द गर्न निर्देशन दिएका हुन्।

मुख्यमन्त्री सिंहले स्वास्थ्य सेवा सञ्चालन गर्दा मापदण्डको पूर्ण पालना अनिवार्य रहेको उल्लेख गर्दै स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा लापरबाही कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । उनले भने, 'जनताको स्वास्थ्यप्रति हामी कुनै प्रकारको सम्झौता गर्न सक्दैनौं। मापदण्ड उल्लंघन गर्दै सेवा सञ्चालन गर्नु गम्भीर अपराध हो। त्यसैले यस्ता अस्पताललाई तुरुन्त बन्द गर्ने निर्देशन दिएका छौं ।'

अनुगमनका क्रममा जम्मा दुईटा स्वास्थ्य संस्थासँग मात्र सेवा सञ्चालन अनुमतिपत्र दुरुस्त रहेको पाइयो भने थप दुईटाले नवीकरण गर्नुपर्ने अवस्था देखियो। यी स्वास्थ्य संस्थाहरूलाई अविलम्ब आवश्यक कागजात मिलाउन निर्देशन दिइएको छ।

मुख्यमन्त्री सिंहले स्वास्थ्य सेवामा गुणस्तर सुधार र अनुशासन कायम गर्न आवश्यक नीति तथा मापदण्डलाई कडाइका साथ पालना गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने, 'स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि सरकार कटिबद्ध छ। हामीले जनताको स्वास्थ्यको रक्षा गर्न कुनै पनि अवरोध सहने छैनौं। अनियमित सेवा प्रदायकहरूलाई कारबाहीको भागीदार बनाइनेछ।'

मधेश सरकारले स्वास्थ्य सेवाका मापदण्ड पालन नगर्ने संस्थाहरूलाई कडा कारबाही गर्ने नीति अघि सारेको छ। यसअनुसार अनुगमन प्रक्रिया निरन्तर जारी रहने र आगामी दिनहरूमा अझ बढी सतर्कता अपनाइने मुख्यमन्त्री सिंहले बताए।