जनकपुरधाम — धनुषाको जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ।

शनिबार साँझ जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख ३४४१ नम्बरको बसले बाटो काट्दै गरेका साइकल यात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा परी लक्ष्मीनियाँ गाउँपालिका–१, सिनुरजोडाका ३५ वर्षीय रविन्द्र मण्डलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वरुण बहादुर सिंहले जानकारी दिए।

दुर्घटनापछि बस चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ। दुर्घटनास्थल पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत छ लेनको सडकखण्डमा पर्छ, जुन तीव्र गतिका सवारीसाधनका कारण जोखिमयुक्त मानिन्छ । प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।